प्रधानमन्त्री बालेन शाहले आज सांसदहरूसँग छलफल गरेका छन्।
सत्ता र प्रतिपक्षीमा रहेका दलका सांसदहरूसँग प्रधानमन्त्रीले छलफल गरिरहेका हुन्।
प्रदेशगत रूपमा प्रधानमन्त्रीले सांसदहरूसँग सामूहिक छलफल गरेका छन्।
राप्रपा संसदीय दल नेतासमेत रहेका सांसद ज्ञानेन्द्र शाही पनि छलफलमा पुगेका छन्।
प्रधानमन्त्रीले छलफलका लागि बोलाएको र आफूले कर्णालीका विकास निर्माणका विषयहरू उठान गर्ने उनले पत्रकारहरूलाई बताए।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले भने प्रधानमन्त्रीले राखेको बैठकमा नजाने बताएका छन्।
‘प्रधानमन्त्रीले सदन बोलाउन तिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण था भएन। हामी कोठे बैठकमा आउँदैनौँ।सदनको वैठक बोलाउनु परो। हप्ताको १ चोटि कम्तीमा राख्नु पर्छ बैठक। जनताको प्रश्नदेखि भाग्न पाइँदैन, सबै प्रश्नका उत्तर दिनैपर्छ, जय लोकतन्त्र,’ साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
रास्वपा सांसद यज्ञमणि न्यौपानेले छलफलका क्रममा सांसदहरूले आफ्ना क्षेत्र तथा प्रदेशमा रहेका समस्याहरूबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए।
‘क्षेत्र तथा प्रदेशका समस्याबारे प्रधानमन्त्रीज्यूलाई सुनाइयो। तत्काल समाधान गर्ने समस्या के हुन् र समाधान के हुन् भन्ने सन्दर्भमा प्रधानमन्त्रीले जिज्ञासा राख्नुभयो,’ उनले भने, ‘त्यही विषयमा केन्द्रित भएर सांसदहरूले धारणा राख्ने काम भयो।’
प्रधानमन्त्रीले सुरूमा कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए।