प्रधानमन्त्री बालेन शाहले सांसदहरूसँग छलफल गरेका छन्।
सत्ता र प्रतिपक्षमा रहेका दलका सांसदहरूसँग प्रधानमन्त्रीले आज छलफल गरेका हुन्।
छलफलमा सत्तारूढ दल रास्वपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी दलहरू नेकपा एमाले, नेकपा, राप्रपालगायत दलका सांसदहरू सहभागी थिए।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका सांसदहरू भने छलफलमा अनुपस्थित रहेका थिए।
छलफलमा प्रधानमन्त्री बालेन शाहले सांसदहरूलाई आफ्नो क्षेत्र तथा प्रदेशमा भएका समस्याहरू र तिनका समाधानका उपाय तथा विकास निर्माणका योजनालगायत विषयमा कुराकानी गरेका थिए।
सांसदहरूले पनि विकास निर्माणका योजनाहरू बजेट अभावलगायत कारण अलपत्र परेकोजस्ता विषय उठान गरेका थिए।
नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इलामका अधिकांश ठाउँमा सडक बने पनि पुलहरू नबन्दा समस्या भइरहेको कुरा बताएका थिए।
‘बाटो त पुगेको छ तर पुल नहुँदा जनतालाई सास्ती छ,’ प्रधानमन्त्रीसँगको छलफलमा उनले भने, ‘पुलहरू बनाउन बजेट बिनियोजन गर्नुपर्छ। साथै शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापनलगायत क्षेत्रमा पनि बजेटको आवश्यकता छ।’
नेपाली कांग्रेसका सांसद निश्कल राईले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।
‘कृषि र पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ,’ उनले भनेका थिए, ‘इलामको कृषि र पर्यटनलाई ध्यान दिन सकियो भने देशकै अर्थतन्त्रमा यसले सकारात्मक भूमिका खेल्छ।’
उनले कृषि उत्पादन बजारीकरणमा पनि सरकारले सहयोग गर्नुपर्ने बताएका थिए।
रास्वपा सांसद यज्ञमणि न्यौपानेले छलफलका क्रममा सांसदहरूले आफ्ना क्षेत्र तथा प्रदेशमा रहेका समस्याहरूबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए।
‘क्षेत्र तथा प्रदेशका समस्याबारे प्रधानमन्त्रीज्यूलाई सुनाइयो। तत्काल समाधान गर्ने समस्या के हुन् र समाधान के हुन् भन्ने सन्दर्भमा प्रधानमन्त्रीले जिज्ञासा राख्नुभयो,’ उनले भने, ‘त्यही विषयमा केन्द्रित भएर सांसदहरूले धारणा राख्ने काम भयो।’
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले करिब साढे २ घन्टा कुराकानी गरेका थिए।
त्यसक्रममा प्रधानमन्त्री बालेन शाहले सबै सांसदहरूसँग कुराकानी गरेर प्राथमिकताका क्षेत्र पहिचान गरी बजेट विनियोजन गरिने बताएका थिए।