नेपाली कांग्रेसका नवनिर्वाचित सांसदहरूलाई निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कार्यक्रम गरेर बधाई दिएको छ।
नेता पूर्णबहादुर खड्का र शेखर कोइरालासहित नेताहरूले काठमाडौंको धुम्बाराहीमा आज कार्यक्रम गरी बधाई दिएका हुन्।
कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका केही राष्ट्रिय सभा र प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरू उपस्थित भएका थिए।
माघ ११ मा राष्ट्रिय सभा निर्वाचन हुँदा शेरबहादुर देउवा सभापति थिए। त्यसबेला कांग्रेसले नेकपा एमाले र लोसपासँग गठबन्धन गरेको थियो। कांग्रेसले ९ सिट जितेको थियो।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचन समानुपातिकतर्फ सूची पठाउँदा पनि देउवा नै सभापति थिए। प्रत्यक्षतर्फ भने विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाको हस्ताक्षरमा उम्मेदवारहरू चुनावमा गएका थिए।
प्रतिनिधि सभामा कांग्रेसका ३८ जना सांसद छन्। तर आज देउवा समूहले राखेको कार्यक्रममा धेरै सांसद देखिएनन्।
आजै प्रधानमन्त्री बालेन शाहले पनि सांसदहरूसँग छलफल गरेका छन्। सत्ता र प्रतिपक्षी दलका सांसदहरू प्रधानमन्त्रीले बोलाएको छलफलमा सहभागी छन्। कांग्रेसका सांसदहरू पनि छलफलमा सहभागी रहेका थिए।
देउवा समूहले राखेको कार्यक्रममा सहभागी एक नेताले दिएको जानकारीअनुसार प्रतिनिधि सभा सांसदहरू टेकबहादुर गुरूङ, विष्णु खड्का, रुक्मिणी कोइराला, रिना उप्रेती, सीता थपलिया, गंगालक्ष्मी अवाल, निनु कर्ण, हरिनादेवी कामी, सुशीला ढकाल, गीताकुमारी सेन्दाङलगायत सांसद उपस्थित थिए।
राष्ट्रिय सभा सांसदहरू रन्जित कर्ण, खम्मबहादुर खाती, चन्द्र केसी, गीता देवकोटा र जगत तिमिल्सिना कार्यक्रममा सहभागी रहेका थिए।
सांसदहरूलाई बधाई दिने कार्यक्रममा नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, बलबहादुर केसी, एनपी साउदलगायत सहभागी थिए।
नेता पूर्णबहादुर खड्काले नवनिर्वाचित सांसदहरूलाई देश र जनताका पक्षमा काम गर्न आग्रह गरेका थिए। उनले सांसदहरूको भूमिका प्रभावकारी रहनुपर्नेमा जोड दिएका थिए।
नेता शेखर कोइरालाले पनि नेताहरूका सुझाव सुन्न सांसदहरूलाई आग्रह गरेका थिए। संसदमा बोल्ने कुराहरूका बारेमा संसद बाहिर रहेका नेताहरूसँग पनि सुझाव लिन उनको आग्रह थियो। कांग्रेसका शीर्ष नेताहरू संसदमा नरहेको अवस्थातर्फ लक्ष्य गर्दै उनले सांसदहरूलाई सुझाव लिन आग्रह गरेका थिए।
संस्थापनइतर समूहले सांसदहरूलाई बधाई कार्यक्रम राख्दा सानेपामा संस्थापन पक्षका पदाधिकारीहरू अनौपचारिक छलफलमा जुटेका थिए। कांग्रेसले चैत १८ गतेका लागि अनुशासन समिति बैठक पनि बोलाएको छ।
कांग्रेसमा विशेष महाधिवेशनबाट आएको कार्यसमिति र विशेष महाधिवेशनमा सहभागी नभएका देउवा समूहले समानान्तर गतिविधि गर्ने देखिएको छ। उनीहरूले भोलि र पर्सी 'केन्द्रीय समिति' बैठक गर्ने तयारी गरेका छन् भने चैत १९ गते जिल्ला सभापति भेला गर्ने तयारी रहेको नेताहरूले बताएका छन्।
कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई चैत १४ गते अभिमुखीकरणसमेत दिइसकेको छ।
तस्बिरहरू:
-1774865644.jpg)
-1774865643.jpg)
-1774865643.jpg)
-1774865643.jpg)
-1774865643.jpg)
-1774865642.jpg)
-1774865642.jpg)
-1774865642.jpg)
-1774865642.jpg)
-1774865642.jpg)