लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्मालाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
सोमबार न्यायाधीश नवराज दुलालको इजलासले शर्मालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।
उनीविरूद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिमको कसुरमा अनुसन्धान सरकारी वकिलको कार्यालयले म्याद माग गरेको थियो।
रेखाकुमारी शर्माविरूद्ध गत जेठ १६ गते महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो। एक पटक निर्णय भइसकेको प्रतिवादीलाई फेरि त्यही मुद्दामा पक्राउ गरिएको भनेर शर्माका वकिलहरूले बहस गरेका थिए।
त्यस्तै, मिसिलमा चैत १५ गते पीडितको तर्फबाट जाहेरी दिएको पनि उल्लेख गरेको छ।
महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचल्ने निर्णय भइसकेकाले यो विषयवस्तु के हो भनेर इजलासले यकिन गर्न नसकेको जनाएको छ।
‘विवादित विषयमा आधिकारिक निकायबाट यसअघि निर्णय भए/नभएको? भएको भए के कुन विषयमा के कस्तो निर्णय भएको हो? यसै विषयमा एक पटक टुंगो लागेको हो/होइन? मिसिल संलग्न कागज प्रमाणका आधारमा आजै यस इजलासबाट यकिन गर्न सकिएन,’ न्यायाधीश दुलालको इजलासले भनेको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पनि बहसको क्रममा तत्काल टुंगो लगाउन कार्यालयमा भएका मिसिल कागज जलेर नष्ट भएको बताउँदै केही दिन हिरासतमा राख्न माग गरेको देखिएको छ।
‘कार्यालयमा भएका मिसिल कागज जलेर नष्ट भएको केही समयका लागि थुनामा राखी प्रमाण झिकाएर बुझी निर्णय गरिने भन्ने इजलास समक्ष अनुरोध समेत गर्नुभएको हुँदा सो समेतलाई ध्याना राखी शर्मालाई तीन दिनको म्याद थप अनुमति प्रदान गरिएको छ,’ इजलासमा भनिएको छ।