कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका मन्त्री र सचिवलाई राखेर पुरानै शैलीबाट काम गर्ने प्रवृति अन्त्य गर्न निर्देशन दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगरमा आयोजित बजेट कार्यान्वयनको अवस्था, आयोजना छनोट मापदण्ड र कार्यविधि सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कडेलले बजेट कार्यान्वयनमा भइरहेको ढिलाइ र कामको ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गर्दै उक्त निर्देशन दिएका हुन्।
मुख्यमन्त्री कँडेलले हालसम्म बजेट खर्चको प्रगति कमजोर देखिएको उल्लेख गर्दै सम्बन्धित मन्त्रालय तथा निकायहरूलाई तत्काल सुधार गर्न निर्देशन दिए।
‘बजेट किन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन भन्ने प्रश्नको जबाफ तपाईंहरूले खोज्नुपर्छ,’ उनले भने, ‘समस्या देखाउने होइन, समाधान गर्ने जिम्मेवारी तपाईंहरूकै हो।’
उनले पुरानो कार्यशैलीका कारण विकास निर्माणका काम प्रभावित भएको भन्दै काम गर्ने तरिका परिवर्तन गर्न आग्रह गरे।
‘पुरानो शैलीलाई सुधार गर्नुहोस्, नयाँ ढंगले काम गर्न सिक्नुहोस्,’ उनले निर्देशन दिँदै भने, ‘जनताले परिणाम चाहेका छन्, त्यसअनुसार काम देखिनुपर्छ।’
कार्यालयमा फाइल रोकिने प्रवृत्तिप्रति उनले कडा असन्तुष्टि व्यक्त गरे।
‘फाइल किन रोकिन्छन् ? यस्तो प्रवृति रोक्नुहोस्, काम अघि बढाउनुहोस्,’ उनले भने, ‘यदि कुनै समस्या छ भने मलाई जानकारी गराउनुहोस्, समाधानका लागि म स्वयं अघि बढ्छु।’