उच्च अदालत पाटनका दुई जना न्यायाधीशविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।
सोमबार सर्वोच्च अदालतमा न्यायाधीश ऋषि राजभण्डारी र गोपालप्रसाद बास्तोलाविरूद्ध अदालतको अवहेलना रिट दर्ता भएको हो।
कानुनका विद्यार्थी विवेक चौधरीले दुई न्यायाधीशविरूद्ध नै सर्वोच्चमा रिट दायर गरेका हुन्। यस रिटको सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ।
निवेदनमा उच्च अदालत पाटनले फैसला गर्दा सर्वोच्च अदालतबाट प्रतिपादित बाध्यकारी कानुनी सिद्धान्तको पालना नगरी निर्णय गरी अवहेलना गरेको आरोप छ।
चौधरीले आफ्नो रिट निवेदनमा सर्वोच्च अदालतका विभिन्न निर्णयबाट स्थापित कानुनी सिद्धान्तहरू स्पष्ट रूपमा उल्लेख गरेको भए पनि ती सिद्धान्तलाई बेवास्ता गरी फैसला गरिएको दाबी गरेका छन्।
निवेदन अनुसार नगर प्रहरी तथा ट्राफिक प्रहरीले सवारी साधनमा ‘ह्विल लक’ लगाउने कार्य कानूनी आधारबिना गरिएको भन्दै उक्त कार्य बदर गराउन उच्च अदालत पाटनमा रिट निवेदन दायर गरिएको थियो। तर, अदालतले ट्राफिक व्यवस्थापनका लागि सीमित स्रोत साधनका आधारमा ‘ह्विल लक’ प्रयोगलाई अवैध भन्न नमिल्ने भन्दै रिट निवेदन खारेज गरेको थियो।
चौधरीले सर्वोच्च अदालतले विभिन्न मुद्दामा ‘कानुनले स्पष्ट अधिकार नदिएसम्म कुनै पनि निकायले अधिकार प्रयोग गर्न नपाउने’, ‘राज्यका प्रत्येक निकायले कानुनको अधीनमा रही काम गर्नुपर्ने’ लगायतका सिद्धान्त प्रतिपादन गरेको उल्लेख गर्दै ती सिद्धान्तको जानाजानी अवज्ञा गरिएको आरोप लगाएका छन्।
नेपालको संविधानको धारा १२८ (४) ले सर्वोच्च अदालतले प्रतिपादन गरेको कानुनी सिद्धान्त सबैले पालन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। यस्तो अवस्थामा तल्लो अदालतबाट उक्त सिद्धान्तको बेवास्ता गरेको हुँदा अवहेलनाको विषयवस्तु बन्ने दाबीसहित उनी सर्वोच्च पुगेका हुन्।