राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बूढानीलकण्ठस्थित आफ्नो निवासमा विभिन्न दलका नेताहरूसँग भेटघाट र परामर्श थालेका छन्।
सभापति लामिछानेले मंगलबार बिहान आम जनता पार्टीका अध्यक्ष प्रभु साहसँग छलफल गरेका हुन्।
छलफलका क्रममा सभापति लामिछानले परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइ देखिए पनि निष्कर्षमा सबैको जित भएको बताउँदै सरकार, संसदलाई प्रभावकारी बनाउन सबै लागिपर्नुपर्ने बताएका थिए।
‘रास्वपाको मात्रै जित होइन, यो हामी सबै नेपालीको जित हो। सरकार, संसदको भूमिका प्रभावकारी बनाउन भूमिका खेल्नुपर्यो,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै अध्यक्ष साहले भने।
उनका अनुसार मधेस, कर्णालीलगायत पछाडि परेको क्षेत्रको एकीकृत विकासमा सबैले साथ दिनुपर्ने लामिछानेको भनाइ थियो।
‘कर्णाली, मधेस प्रदेश पछाडि परेका छन्। त्यसलाई प्राथमिकतामा राखेर सरकारले कार्यसम्पादन गरिरहेको छ। यहाँको साथको खाँचो छ,’ लामिछानेले भनेका थिए।
भेटका क्रममा सभापति रवि लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने जानकारी गराएको उनको सचिवालयले जानकारी दिएको छ।
‘देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरि पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित थियो,’ उनको सचिवालयले भनेको छ।
आजै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरसँग पनि छलफल गरेका थिए। जनता समाजवादी पार्टी नेपालका नेतासमेत रहेका ठाकुरसँग लाछिानेले आफ्नो निवासमा भेट गरेका हुन्।
ठाकुरसँग पनि वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको लामिछानेको सचिवालयको भनाइ छ।
‘पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुबै पक्ष एकमत देखिनुभएको छ,’ लामिछानेको सचिवालयले जानकारी दिएको छ।