नेपाली कांग्रेसका नेता शेखर कोइराला र शशांक कोइराला नेता पूर्णबहादुर खड्काको अगुवाइमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले राखेको छलफलमा सहभागी भएका छन्।
देउवा पक्षले आज काठमाडौंको धुम्बाराहीमा छलफल राखेका छन्। त्यहाँ शेखर र शशांक पनि सहभागी छन्।
२०७८ सालमा भएको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक भन्दै देउवा पक्षले भेला राखेको हो।
कार्यवाहक सभापतिकै हैसियत भन्दै पूर्णबहादुर खड्काले बैठक राखेका हुन्। गत असोज २८ गते तत्कालीन सभापति देउवाले तत्कालीन उपसभापति खड्कालाई कार्यवाहक दिएका थिए। देउवा उपचारका क्रममा हिजोआज विदेशमा छन्।
गत पुस मसान्तमा विशेष महाधिवेशन भएको थियो। विशेष महाधिवेशनमा सहभागी नभएका तत्कालीन देउवा र शेखर कोइराला पक्ष अहिले एकै ठाउँमा उभिएका छन्। उनीहरूले विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको विरोधमा सर्वोच्च अदालतमा मुद्दा दिएका छन् र त्यो मुद्दा विचाराधीन रहेकै अवस्थामा भेला भएको हो।
पूर्वमहामन्त्री शशांक १४ औं महाधिवेशनमा कतै पनि खुलेका थिएनन्। केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका उनको नाम देउवा र शेखर पक्ष दुवैतर्फ थियो। महाधिवेशनमा सभापतिमा देउवा जिते, त्यससँगै शशांक पनि देउवा समूहसँग नजिक भएका थिए।
तर शेखरले विशेष महाधिवेशन अघिसम्म संस्थापनइतर समूहको नेतृत्व गर्दै आएका थिए। तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सहभागितामा विशेष महाधिवेशन भयो तर शेखर सहभागी भएनन्, उनीपक्षका कतिपय नेता भने विशेष महाधिवेशनमा गएका थिए।
विशेष महाधिवेशनमा सहभागी नभएदेखि नै शेखर पनि देउवा समूहसँगै नजिक भए। देउवा समूहले राख्ने हरेक छलफलमा शेखर पनि छुट्दैनन्। आज धुम्बाराहीमा पनि ढिला गरी शेखर आएका थिए। शेखर नआएसम्म पूर्णबहादुरले बैठक सुरू गरेका थिएनन्।
पछिल्लो समय देउवा समूहले समानान्तर गतिविधि गरिरहेको छ। सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई बधाई तथा शुभकामना दिने कार्यक्रम थियो। केही सांसदहरू भने यो कार्यक्रममा सहभागी भएका थिएनन्। विगतमा देउवा र कोइरालानिकट रही टिकट पाएका सांसदहरू भने कार्यक्रममा गएका थिए।
निर्वाचन समीक्षा, भावी महाधिवेशन, पार्टीका आन्तरिक विषयमा छलफल गर्न देउवा पक्षको बैठक बसेको हो। पार्टीको आधिकारिकता विषय अदालतले टुंगो नलाएसम्म गतिविधि गरिराख्ने पक्षमा देउवा समूह छ।
नेता गुरू बरालले निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएको विरोधमा सर्वोच्च अदालत गइएको र त्यससम्बन्धी मुद्दाको टुंगो नलागेसम्म यस्ता कार्यक्रम भइराख्ने बताए।
धुम्बाराहीमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले विशेष महाधिवेशन गलत नियतले भएको पनि बताएका थिए। साथै उनले सर्वोच्चले दिने निर्णय मानेर जाने बताए।
आजको बैठकमा नेताहरू पूर्णबहादुर खड्का, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, बद्री पाण्डे, जीवन परियार, मोहनबहादुर बस्नेत, महेन्द्रा सुब्बा, सरस्वती बजिमया, कल्याणी रिजाल, मानबहादुर विश्वकर्मा, शारदा पौडेल, पुष्प पराजुली, अर्जुन जंगबहादुर सिंह, आशा विक, अम्बिका बस्नेत, आनन्द ढुंगाना, बलबहादुर केसी, मिनेन्द्र रिजाल, एनपी साउद, दीलेन्द्रप्रसाद बडू, शिव हुमागाईं, उमेशजंग रायमाझी, जितजंग बस्नेत, गुरू बराल, गणेश लामा, किरण पौडेल, सीता गुरूङ, पद्म नारायण चौधरी, कृष्णकिशोर घिमिरे, प्रदीप सुनुवार, शान्ति विक, दीपक गिरी, कुन्दन काफ्ले, श्याम घिमिरे, गेहेन्द्र गिरी सहभागी छन्।
साथै रामहरि खतिवडा, जीवनबहादुर शाही, सीता राना, राधा घले, ध्यानगोविन्द रञ्जित, राजीवविक्रम शाही, मानबहादुर नेपाली, सीता देवकोटा, सरस्वती तिवारी, विद्या तिमलसिना, लक्ष्मी खतिवडा, जीवन राना, कान्तिका सेजुवाल, रमा कोइराला, शुशीला मिश्र, रणबहादुर रावल, ईश्वरी न्यौपाने, महालक्ष्मी उपाध्याय डिना, मदनबहादुर अमात्य, गोविन्द भट्टराई, भीम पराजुली, हरिशरण नेपाली, शंकर भण्डारी सहभागी छन्।
साथै सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर र कर्णाली प्रदेश सभापति ललितजंग शाही सहभागी छन्। अरू प्रदेशका सभापतिहरू भने विशेष महाधिवेशनमा सहभागी र त्यसपछिका केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए।
देउवा पक्षले समानान्तर गतिविधि गरेपछि कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक बुधबारका लागि बोलाइएको छ।
तर सोमबार सांसदहरूलाई बधाई दिने कार्यक्रममा बोल्दै नेता शेखर कोइरालाले समूह छलफल विगतमा पनि भएको र अब पनि हुने बताएका थिए।
आज देउवा समूहले गरेको छलफलमा सहभागी शेखर पक्षका कतिपय नेताहरू भने बैठक अनौपचारिक हुनुपर्ने र माइन्युट उठाउन नहुनेमा छन्। यो छलफलमा जानुअघि उनीहरूले आफूनिकटको बेग्लै छलफल गरेको चर्चासमेत छ।
पछिल्लो समय पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापति हैसियतमा विज्ञप्ति जारी गरेका थिए। त्यो विषयलाई कांग्रेस पदाधिकारीले नोटिसमा रहेको भन्दै अब पनि कार्यवाहक भन्दै विज्ञप्ति जारी गरिराखे क्रियाशील सदस्यता नवीकरण नगर्नेसम्मको कारबाही हुन सक्ने चेतावनी दिएका थिए।
त्यसपछि खड्काकै अगुवाइमा देउवा पक्षका नेताहरू, जिल्ला सभापतिहरूको भेला तय भएको थियो।
देउवा पक्षको भेलालाई लक्ष्य गरी कांग्रेसका प्रवक्ता देवराज चालिसेले समानान्तर गतिविधिले पार्टीलाई न्याय नगर्ने बताएका छन्।
प्रवक्ता चालिसेले पार्टी अनुशासन सबैले पालना गर्नुपर्ने बताए।
‘प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति व्यक्त गर्नु स्वाभाविक मानिन्छ। यसले नै संस्थागत निर्णयहरूलाई थप परिपक्व र बलियो बनाउँछ। तर जब यो असहमति पार्टीभित्रको मर्यादित संवादबाट बाहिर निस्केर आत्मकेन्द्रित, समानान्तर गतिविधिमा रूपान्तरण हुन्छ, तब यसले पार्टीलाई न्याय गर्दैन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
साथै उनले १५ औं महाधिवेशन घोषणा भइसकेको पनि उल्लेख गरेका छन्। कांग्रेसले १५ औं महाधिवेशन असोजमा गर्ने गरी केन्द्रीय समितिबाट कार्यतालिका ल्याइसकेको छ।
‘महाधिवेशन नजिकिँदै छ, यो समयमा आफ्ना स्पष्ट योजना, ठोस तर्क र सकारात्मक ऊर्जासहित कार्यकर्ताको मन जित्न लाग्नु सबैका लागि श्रेयस्कर हुन्छ, नेतृत्वको बाटो विधानअनुसार खुला छ। पार्टीको अनुशासन सबैले पालना गर्नुपर्छ। आजका कर्मले भोलि आफैंलाई लज्जित नपारोस् भन्ने सोचका साथ अघि बढौं,’ उनले भनेका छन्।