पार्टीभित्र समानान्तर गतिविधि नगर्न संस्थापन पक्षले गरेको आग्रह विपरित कोशी प्रदेश सरकारमा रहेका कांग्रेसका दुई जना मन्त्रीहरू शेरबहादुर देउवा पक्षको भेलामा सहभागी भएका छन्।
देउवा नेतृत्वमा रहेको विघटित केन्द्रीय समितिको बैठक भनेर नेता पूर्णबहादुर खड्काले बोलाएको भेलामा कोशीका मन्त्रीहरू प्रदीप सुनुवार र भीम पराजुली सहभागी भएका हुन्।
ओखलढुंगाका सुनुवार कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री छन् भने मोरङका पराजुली प्रदेशको वन तथा पर्यटन मन्त्री छन्।
एमाले नेता हिक्मत कार्की नेतृत्वमा रहेको सरकारमा मन्त्री रहेका यी दुवै नेतामध्ये सुनुवार देउवा समूहका हुन् भने पराजुली सिटौला समूहका हुन्।
सिटौला समूहकै नेतासमेत रहेका कोशी सभापति एवम् संसदीय दलका नेता उद्धव थापा भने गगन थापा नेतृत्वको केन्द्रीय समितिको बैठकमा सहभागी बन्दै आएका छन्। उनी भने पूर्णबहादुर खड्काले बोलाएको बैठकमा सहभागी भएनन्।