नेकपा एमालेले बुधबार दिउँसो संसदीय दल बैठक बोलाएको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको बैठकले बुधबार अपराह्न ३ बजे संसदीय दल बैठक बोलाउने निर्णय गरेको हो।
आज बस्ने संसदीय दल बैठकले दल नेता चयन गर्ने छ।
संसदीय दल बैठकको संयोजन गर्ने जिम्मा पहिलो वरीयताका उपाध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद रामबहादुर थापा बादललाई जिम्मेवारी दिइएको नेताहरूले बताएका छन्।
‘सम्भवतः बादल नै संसदीय दल नेता हुनुहुन्छ, उहाँलाई नै बैठक बोलाउन संयोजन गर्न जिम्मा दिइएको छ,’ ती नेताले भने।
गत फागनु २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ सिट जितेको थियो।
प्रत्यक्षतर्फ कुनै पदाधिकारीले चुनाव जित्न सकेका थिएनन्।
समानुपातिकबाट पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सचिव पद्मा अर्याल, पूर्वउपाध्यक्ष गुरू बराल लगायत निर्वाचित भएका छन्।
संसदमा प्रतिनिधित्व गर्ने शीर्ष नेता भएकाले एमालेले बादललाई दल नेता बनाउन लागेको हो। यद्यपि प्रत्यक्ष जितेर आएका युवा सांसद सुहाङ नेम्वाङ, क्षितिज थेवे लगायतमध्येबाट दल नेता छान्नुपर्ने पनि आवाज उठिरहेको छ।
प्रतिनिधि सभाको पहिलो बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ। त्यसैले एमाले दल नेता चयनमा जुटेको हो।