नेपाली कांग्रेसले संसदीय दल नेता चयन गर्न निर्वाचन प्रक्रिया केही दिनभित्रै सुरू गर्ने तयारी गरेको छ।
केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने र त्यसले निर्वाचन समिति बनाएपछि संसदीय दल नेता चयन प्रक्रिया अघि बढ्ने महामन्त्री गुरूराज घिमिरेले जानकारी दिए।
‘सम्भवत: शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्छ, त्यसले निर्वाचन समिति बनाउँछ अनि संसदीय दल नेता चयनको प्रक्रिया अघि बढ्छ,’ महामन्त्री घिमिरेले सेतोपाटीसँग भने।
प्रतिनिधि सभामा ३८ सिट रहेको कांग्रेस प्रमुख प्रतिपक्षी दल हो। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि बिहीबार बस्ने गरी संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
प्रतिनिधि सभाको पहिलो बैठक बस्ने बेला हुँदासम्म कांग्रेसले संसदीय दल नेता चयन गरेको छैन।
प्रतिनिधि सभामा कांग्रेस सांसद अर्जुननरसिंह केसी ज्येष्ठ सदस्य छन्। सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यले प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेछन्। पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन हुनेछ।
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी पनि कांग्रेस संसदीय दल नेता हुने चर्चा पार्टीभित्र छ। उनी समानुपातिकतर्फबाट सांसद भएका थिए।
सर्वोच्च अदालतमा प्रधान न्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद बैठक बस्नुपर्ने छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अवकाशमा गएका छन् भने वरिष्ठतम् न्यायाधीश सपना मल्ल कामु प्रधान न्यायाधीशको जिम्मेवारीमा छिन्।
प्रमुख प्रतिपक्षी दल नेता पनि संवैधानिक परिषदमा सदस्य रहन्छन्। प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषदमा प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख सदस्य हुन्छन्। ६ सदस्यीय संवैधानिक परिषदमा ४ जना रिक्त छन्। त्यसैले संवैधानिक परिषद बैठक बस्न सकेको छैन।
‘संसदीय दल नेता चयन गर्न हामी हतारमै छौं,’ महामन्त्री घिमिरेले भने, ‘केही दिनभित्रै संसदीय दल नेता चयन हुन्छ।’
कांग्रेसमा २०६४ सालदेखिका निर्वाचनहरूमा प्रतिस्पर्धाबाटै संसदीय दल नेता चयन गर्ने गरिएको अभ्यास छ। २०७९ को चुनावपछि पुस ६ गते भएको संसदीय दल नेता निर्वाचनमा तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदा भारी मतका साथ देउवा दल नेता चयन भएका थिए।
यसपालि पनि संसदीय दल नेतामा धेरै जना आकांक्षी रहेको कांग्रेसका नेताहरू बताउँछन्। विशेष महाधिवेशनबाट आएको कार्यसमिति र विशेष महाधिवेशनमा सहभागी नभएको तत्कालीन सभापति शेरबहादुर देउवा पक्षबीच मतभेद छ र शीर्ष नेताहरूबीच संवाद हुन सकिरहेको छैन। यस्तो अवस्थामा संसदीय दल नेताका लागि प्रतिस्पर्धा हुने देखिएको छ।
‘आकांक्षीहरू धेरै देखिनुभयो भने उहाँहरूसँग संवाद हुन्छ, सर्वसम्मत नभए प्रतिस्पर्धा होला,’ महामन्त्री घिमिरेले भने। आकांक्षीहरूसँग पार्टीले छलफल भने गरिसकेको छैन।
कांग्रेसमा संसदीय दल नेता हुन ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीदेखि युवा सांसद निश्कल राईसम्मको चर्चा छ।
केसीले संसदीय दल नेतामा सिधासिधा आकांक्षा नराखे पनि आफू उक्त पदका लागि योग्य रहेको कुरा बताएका छन्।
चैत ६ गते सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका बेला केसीलाई पत्रकारले अब संसदीय दल नेता बन्ने हो भनेर सोधेका थिए।
जबाफमा केसीले यो विषय आफूलाई थाहा नभएको र पार्टीमा छलफल हुने बताए।
संसदीय दल नेतामा दाबी रहन्छ कि रहँदैन भन्ने अर्को प्रश्नमा केसी, ‘स्वत: दाबी रहन्छ, म सबैभन्दा सिनियर हुँ, संसदीय यात्रा र अभ्यासमा योगदान गरेको छु’ भनेका थिए।
विगतमा त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्र पढाएका केसी अधिवक्तासमेत थिए। उनी २०४८ सालदेखि विभिन्न समयमा सांसद रहेका थिए भने स्वास्थ्य, भौतिक, शिक्षा र सहरी विकास मन्त्रीसमेत भएका थिए।
समानुपातिकतर्फबाटै प्रतिनिधि सभा सदस्य बनेका पूर्वसहमहामन्त्री भीष्मराज आङ्देम्बे पनि संसदीय दल नेता उम्मेदवार बन्ने चर्चा छ।
उनलाई संसदीय दल नेता उम्मेदवार बनाउने विषयमा शेरबहादुर देउवा-पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षको तयारी रहेको नेताहरू दाबी गर्छन्।
तर कांग्रेसभित्र प्रत्यक्ष निर्वाचन जितेर आएका र युवालाई संसदीय दल नेता बनाउनुपर्ने आवाज पनि उठ्न थालेको छ। यो कुरा सांसदहरूले भन्दा पनि पार्टीनिकट रहेका भ्रातृ संस्थामा काम गरेकाहरूले बताउने गरेका छन्।
‘कांग्रेसले समयको मागअनुसार ऊर्जा, दक्षता र दूरदर्शीता बोकेको नेतृत्व अघि सार्न आवश्यक छ,’ नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले भने, ‘यस्तो सन्दर्भमा सांसद योगेश गौचन थकाली, निश्कल राई, फिरदोश आलम, सन्दीप राना र बासना थापा जस्ता सक्षम र सम्भावनाशील अनुहारहरूलाई संसदीय दलको नेताका रूपमा अघि बढाउनु पार्टीको दीर्घकालीन हितमा हुने देखिन्छ।’
संसदीय दल नेता उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा देउवा पक्षभित्र पनि छलफल भइसकेको छैन। नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिकै हैसियतमा २०७८ मा भएको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको भेला काठमाडौंको धुम्बाराहीमा राखेका छन्। मंगलबार सुरू भएको भेला आजसम्म चल्नेछ।
यो भेलामा बोल्दै खड्काले समानुपातिक उम्मेदवारको नाम निर्वाचन आयोगमा पठाउँदा विशेष महाधिवेशनवालाहरूले अन्याय गरेको बताएका थिए।
‘पीछडिएको क्षेत्रतर्फ कलस्टरमा पहिलो नम्बरमा विद्या तिमिल्सिनाको नाम थियो तर आयोगमा नाम पठाउने बेला खसआर्य कलस्टरमा नाम रहेका कालिबहादुर सहकारीको नाम पठाइएको छ। दलित कलस्टरमा मानबहादुर नेपालीको नाम रहे पनि आयोगमा सिफारिस पठाउने बेला उहाँको नाम परेन, साथीहरू अन्याय भयो भनेर अदालत जानुभएको छ,’ खड्काको भनाइ उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने।
समानुपातिक सूची निर्वाचन आयोगमा बुझाउने बेला शेरबहादुर देउवा सभापति थिए भने सूचीबाट नाम सिफारिस गर्ने बेला सभापति गगन थापा थिए। विशेष महाधिवेशनबाट आएको कार्यसमितिले समानुपातिकमा देउवा पक्षका थप २ जनालाई स्थान दिनुपर्नेमा नदिएको उनीहरूको भनाइ छ।
कांग्रेसभित्र संसदीय दल नेतामा अर्जुननरसिंह केसी र भिष्मराज आङ्देम्बेबाहेक अरू सांसदहरूको पनि चर्चा छ।
रसुवाबाट चुनाव जितेका मोहन आचार्य, इलामबाट चुनाव जितेका निश्कल राई, बाजुराबाट चुनाव जितेका जनकराज गिरी, डोटीबाट जितेका भरतबहादुर खड्का, पाँचथरबाट जितेका नरेन्द्रकुमार केरूङ लगायतको नाम पनि चर्चामा रहे पनि पार्टीले संसदीय दल नेता चयनकै लागि भनेर अहिलेसम्म सांसदहरूसँग छलफल गरिसकेको छैन।
३४ वर्षीय निश्कलले पार्टीले संसदीय दल नेताको भूमिका दिए आफूले लिने कुरा सार्वजनिक रूपमै बताइरहेका छन्।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ तत्कालीन सभापति शेरबहादुर देउवाले र प्रत्यक्षतर्फ विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाले टिकटमा हस्ताक्षर गरेका थिए।
त्यसकारण पनि समानुपातिकतर्फ सांसद भएका २० जनामध्ये अधिकांश देउवा पक्षका छन् भने प्रत्यक्षतर्फ जितेका १८ मध्ये अधिकांश थापा पक्षका छन्।
देउवा पक्षले चैत १६ गते नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिने कार्यक्रम राखेको थियो। त्यसक्रममा कांग्रेसका सबै सांसद भने सहभागी भएका थिएनन्।
देउवा समूहले राखेको कार्यक्रममा सहभागी एक नेताले दिएको जानकारीअनुसार प्रतिनिधि सभा सांसदहरू टेकबहादुर गुरूङ, विष्णु खड्का, रुक्मिणी कोइराला, रिना उप्रेती, सीता थपलिया, गंगालक्ष्मी अवाल, निनु कर्ण, हरिनादेवी कामी, सुशीला ढकाल, गीताकुमारी सेन्दाङलगायत सांसद उपस्थित थिए।
राष्ट्रिय सभा सांसदहरू रन्जित कर्ण, खम्मबहादुर खाती, चन्द्र केसी, गीता देवकोटा र जगत तिमिल्सिना कार्यक्रममा सहभागी रहेका थिए। सो दिन प्रधानमन्त्री बालेन शाहले सत्ता र प्रतिपक्षी दलका सांसदहरूसँग भेटवार्ता पनि गरेका थिए।
कांग्रेसका समानुपातिक सांसदहरू को कुन पक्षमा भन्ने खुलिसकेका छैनन्।
संस्थापनइतरका एक नेताका अनुसार शेरबहादुर देउवा र शेखर कोइराला समूहबाट प्रत्यक्ष र समानुपातिक गरी २० जना सांसद छन्। उनीहरूका अनुसार संस्थापनका पक्षमा १८ जना बाँकी रहन्छन्।
तर संस्थापन पक्ष यो तथ्यांक मान्न तयार छैन।
‘प्रत्यक्षतर्फ चुनाव जितेका १८ मध्ये ३ जना मात्रै संस्थापनइतरका हुनुहुन्छ, समानुपातिकतर्फ पहिले अर्कै समूहबाट नाम परेकाहरू सभापति थापासँग सम्पर्कमा आउनुभएको अवस्था छ, पार्टी जहाँ रहन्छ, हामी त्यहीँ रहन्छौं भन्नुभएको छ,’ एक पदाधिकारीले भने।
संस्थापन पक्षले आफूहरूको पक्षमा अहिले कम्तीमा १९ जना सांसद उभिने र यो संख्या बढेर जाने दाबी गरेको छ। निर्वाचित सांसदहरूलाई चैत १४ गते कांग्रेसले संसदीय अभ्यास र भूमिकालगायत विषयमा अभिमुखीकरण दिएको थियो। तर कांग्रेसले संसदीय दल बैठक पनि राखेको छैन।
संसदीय दल नेताका लागि धेरै सांसदहरूको नाम चर्चामा रहे पनि उनीहरूसँग पार्टीले संवाद गरिसकेको छैन। संसदीय दल नेता चयन प्रयोजनका लागि निर्वाचन समिति गठन गरेपछि यसबारे आकांक्षी सांसदहरूसँग छलफल हुने नेताहरू बताउँछन्।