नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले विशेष महाधिवेशनबाट आएकाहरूसँग मिल्नै नसक्ने हो भने समानान्तर गतिविधि गर्नुभन्दा नयाँ पार्टी गठन गरेर जाँदा हुने बताएका छन्।
नेता पूर्णबहादुर खड्काको अगुवाइमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले काठमाडौंको धुम्बाराहीमा राखेको भेलामा मंगलबार बोल्दै उनले मिल्न नसक्ने हो भने नयाँ पार्टी खोलेर जानुपर्ने बताएका हुन्।
गत पुसमा विशेष महाधिवेशन भएको थियो। विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन।
‘मिलेर जानुको अर्को विकल्प हामीमाझ छैन। यदि मिल्न नै नसक्ने हो भने यसरी समानन्तर गतिविधि गरी अन्यौल सिर्जना गर्नुभन्दा नयाँ पार्टी गठन गरेर जाँदा हुन्छ तर यो हितकर र प्रिय अनि उचित समाधान होइन,’ भेलामा राखेका कुराबारे जानकारी दिँदै कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले भने।
उनले पार्टी संकटमा रहेको र यो समय एक आपसमा लडाइँ गर्न नहुने बताए। समानान्तर गतिविधि रोक्न पनि उनको आग्रह छ।
‘पाका र जिम्मेवार नेतृत्वबाट तत्काल संवादहीनतालाई तोडौं, वार्ताबाट समधान निकालौं, दुर्घटनाउन्मुख परस्थितिलाई सम्हालौं,’ उनले भनेका थिए, ‘पार्टी एकता मजबुत बनाउनेतर्फ सबै लागौं, यसैमा आम कांग्रेसी र लोकतन्त्रको हितमा छ।’