नेकपा एमालेको संसदीय दल नेतामा सुहाङ नेम्वाङले दाबी गरेका छन्।
आज च्यासलमा बसेको संसदीय दलको बैठकमा नेम्वाङले दल नेतामा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
‘पार्टीको विधि पद्धती र वरीयताको विषयमा म जानकार छु र सम्मान पनि गर्छु, तर अहिले देशमा उत्पन्न भएको परिस्थितिलाई हामीले नजरअन्दाज गर्न भने पक्कै हुँदैन,’ उनले संसदीय दल बैठकमा भने, ‘देशको परिस्थिति कस्तो छ भनेर सदन र सदन बाहिरको अवस्थालाई हेरेर हामी बुझ्न सक्नुपर्छ।’
साथै उनले पार्टीलाई अहिलेको अवस्थाबाट माथि उठाउन पनि युवालाई अघि बढाउनुपर्ने बताएका थिए।
‘मेरो नारा नै अहिलेको आवश्यकता युवाको ऊर्जा सँगसँगै अग्रजको अनुभव र आशीर्वाद पनि हो,’ उनले भनेका थिए, ‘अहिलेको जनभावना र आवश्यकता अनुसार तथा पार्टीले लोकतान्त्रिक अभ्यासलाई पनि अवलम्बन गर्ने हुँदा संसदीय दल नेतामा म आफ्नो इच्छा व्यक्त गर्दछु।’
उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।
प्रतिनिधि सभामा एमालेका २५ जना सांसद छन्।
संसदीय दल नेतामा समानुपातिकतर्फबाट सांसद भएका रामबहादुर थापा 'बादल' पनि आकांक्षी छन्। उनकै संयोजनमा आज संसदीय दल बैठक बसेको हो।