पूर्वगृहमन्त्री रमेश लेखकको बयान सुरू भएको छ।
बुधबार बिहानदेखि सरकारी वकिलको कार्यालय काठमाडौंमा लेखकको बयान भइरहेको सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए।
‘उहाँको बयान आज बिहानदेखि नै भइरहेको छ,’ उनले भने।
यस्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि बयान लिने तयारी रहेको उनले बताए।
दुई जनामाथि जिल्ला प्रहरी परिसर काठमाडौंले ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। दुई जनालाई प्रहरीले शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेको थियो।
उनीहरूमाथि भदौ २३ र २४ गतेको छानबिन गर्न बनेको जाँचबुझ आयोगले मुलुकी अपराध संहिताको २०७४ को दफा १८१ लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुर र दफा १८२ हेल्चक्राइँ गरी ज्यान मार्न नहुने कसुर अनुसार अनुसन्धान र कारबाहीको सिफारिस गरेको छ। त्यसअनुसार प्रहरीले उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो।