नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई सचेत गराएको छ।
आज केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नेता खड्कालाई सचेत गराउने निर्णय गरेको हो।
खड्काले चैत १४ गते कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेका थिए।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको विषयमा खड्काले विज्ञप्ति जारी गरेका थिए।
‘चैत १४ गते अनधिकृत वक्तव्य जारी गरेकोले सचेत गराउने निर्णय भएको छ। अबदेखि गलत काम गरे विधानअनुसार कानुनी कारबाही अघि बढ्छ,’ खड्कालाई लक्ष्य गर्दै अनुशासन समिति संयोजक तारामान गुरूङले भने।
तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले खड्काकै अगुवाइमा समानान्तर गतिविधि गर्दै आएका छन्।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित ५०७ उजुरी अनुशासन समितिमा प्राप्त भएको पनि उनले बताए।
स्वतन्त्र र प्रस्तावक समर्थक रहेका, उम्मेदवारविरूद्ध प्रत्यक्ष सहभागी भई लागेका, विपक्षलाई टेवा पुर्याएका, मत नमागी बसेका र कांग्रेसकै टिकटबाट जनप्रतिनिधि भए पनि विपक्षीलाई सहयोग गरेकाहरू विरूद्ध अनुशासन उजुरी आएको छ।
उजुरी आएकाहरूलाई ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको उनले बताए।
