नेकपा एमाले संसदीय दल नेता बन्ने आकांक्षा देखाएका सुहाङ नेम्वाङ समर्थक र प्रस्तावक खोज्न लागेका छन्।
एमाले संसदीय दल नेता छान्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा अहिले निर्वाचनको प्रक्रिया अघि बढाइएको छ।
केन्द्रीय निर्वाचन विभागले निर्वाचनको तयारी गरेको हो। उक्त विभागका प्रमुख निरज आचार्यका अनुसार संसदीय दल नेताको प्रतिस्पर्धाका लागि फारम वितरण भइरहेको छ।
‘अहिलेसम्म रामबहादुर थापा बादलले फारम बुझाउनुभएको छ, सुहाङ नेम्वाङले फारम लगे पनि बुझाइसक्नुभएको छैन, अपराह्न ४ बजेसम्म समय छ,’ उनले भने।
एक नेताका अनुसार धनकुटाका राजेन्द्र राई र संखुवासभाका अर्जुन कार्कीले समर्थक र प्रस्तावक बस्ने वचन दिएकाले सुहाङले उम्मेदवारी दिने तयारी गरेका थिए।
फारम बुझाउने बेला पार्टी महासचिव शंकर पोखरेलले सांसदहरू राई र कार्कीलाई छलफलका लागि भन्दै लगेपछि सुहाङ नयाँ प्रस्तावक र समर्थक खोज्न लागेका छन्।
‘आज बिहानसम्म धनकुटाबाट प्रत्यक्ष निर्वाचित राजेन्द्र राई र संखुवासभाका सांसद अर्जुन कार्कीले समर्थक र प्रस्तावक बन्न राजी हुनुभएको थियो। अहिले महासचिव शंकर पोखरेलले छलफलका लागि भन्दै लगेपछि नयाँ प्रस्तावक र समर्थक खोज्नुपर्ने अवस्था आएको छ,’ ती नेताले भने।
प्रतिनिधि सभा निर्वाचनमा एमालेका २५ जना सांसद निर्वाचित भएका छन्।