नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा बादल बनेका छन्।
उनी समानुपातिकतर्फबाट एमाले सांसद बनेका थिए।
आज च्यासलमा बसेको संसदीय दल बैठकपछि संसदीय दल नेता चयन गर्न निर्वाचन प्रक्रिया अघि बढेको थियो।
सांसदहरू बादल र सुहाङ नेम्वाङले फारम लगे पनि बादलले मात्रै बुझाएको निर्वाचन विभागका प्रमुख निरज आचार्यले बताए।
उनकाअनुसार अपराह्न ४ बजेसम्म फारम बुझाउने समय थियो।
‘त्यो अवधिमा एक जनाले मात्रै फारम बुझाउनुभयो, अब हामी केही बेरमा निर्विरोध रूपमा बादल संसदीय दल नेता निर्वाचित भएको घोषणा गर्छौं,’ उनले भने।
सुहाङले आजै बसेको संसदीय दल बैठकमा युवालाई अघि बढाउनुपर्ने बताएका थिए। साथै आफू संसदीय दल नेता बन्न इच्छा राखेको बताएका थिए।
एक नेताका अनुसार धनकुटाका राजेन्द्र राई र संखुवासभाका अर्जुन कार्कीले समर्थक र प्रस्तावक बस्ने वचन दिएकाले सुहाङले उम्मेदवारी दिन फारमसमेत लगेका थिए।
फारम बुझाउने बेला महासचिव शंकर पोखरेलले सांसदहरू राई र कार्कीलाई छलफलका लागि भन्दै लगेपछि सुहाङ प्रस्तावक र समर्थकविहीन बनेपछि फारम नै दर्ता गर्न पाएनन्।
एमालेबाट प्रतिनिधि सभामा २५ जना सांसद छन्।