राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालतमा आफै उपस्थित भएर तारेख बुझेका छन्।
सानो पाइला सहकारी ठगी प्रकरणको मुद्दामा उनले मंगलबार तारेख बुझेका हुन्।
यसअघि माघ ६ मा मनोनयन दर्ता गर्नुअघि अदालतमा १ करोड धरौटी बुझाएर चितवन गएका थिए।
उनी अदालत आएर तारेख बुझेर फर्किएको अदालतका स्रेस्तेदार प्रभाकर कुमार मल्लिकले जानकारी दिए।
वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा रविविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ।
सरकारी वकिलको कार्यालय पर्साले जेठ ३१ गते उनीविरूद्ध दर्ता गरेको मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो माग गरेको थियो।
वीरगञ्ज आउने क्रममा सिमरामा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै रविले सरकारले नागरिकलाई भोट माग्दा जे वाचा गरेको छ, त्यो पूरा गर्ने बताए।
रास्वपाले सरकारमा हस्तक्षेप गर्छ कि गर्दैन? भन्ने प्रश्न सञ्चारकर्मीले गरेका थिए।
उनले भने, ‘हामीले वाचापत्रमार्फत् यो यो गर्छौं भनेका छौं, त्यही वाचापत्र बोकेर सरकार गएको छ। सरकारले नागरिकलाई भोट माग्दा जे वाचा गरेको छ, त्यो पूरा गर्छ,’ जबाफमा उनले भने, ‘पूरा नगरेको खण्डमा मात्रै पार्टीले किन गरेन भन्ने हो, सरकार आफ्नो ढंगले अघि बढ्छ।’
उनले सरकारको कामको मूल्यांकन गर्ने जिम्मा नागरिक समाज र सञ्चारकर्मीको भएको समेत बताए।