नेकपा एमालेका जनसंगठनहरू अहिले आन्दोलित छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ज्यानमुद्दामा प्रहरीले पक्राउ गरेपछि राजनीतिक प्रतिशोध साधिएको भन्दै उनीहरू सडकमै निस्किए।
शनिबार र आइतबार काठमाडौंको माइतीघर क्षेत्रमा प्रहरीसँग घम्साघम्सी पर्यो। सिंहदरबार र माइतीघर क्षेत्रमा प्रहरीले लाठीचार्ज गर्दा एमालेका केही नेता–कार्यकर्ता घाइते छन्।
एमालेले अहिले स्वरूप फेरि पनि आन्दोलनबाट पछि हटेको छैन। अहिले आन्तरिक शक्ति सुदृढीकरण र जनपरिचालनमा लागेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारविरूद्ध आन्दोलित भइरहेको एमालेको जनसंगठन अनेरास्ववियुका एक समूहले बिहीबार पार्टी महासचिव शंकर पोखरेलको पुतला जलायो।
काठमाडौंको अमृत साइन्स क्याम्पस कमिटीले महासचिवको पुतला दहन गरेको हो। अस्कल क्याम्पसबाट विरोध जुलुससहित पार्टी केन्द्रीय कार्यालय पुगेका उनीहरूले महासचिवविरूद्ध नाराबाजी गर्दै पुतला जलाएका थिए।
पार्टी नेतृत्व नै लागेर संसदीय दल निर्वाचनमा सुहाङ नेम्वाङले प्रस्तावक र समर्थकसमेत पाउन नसक्ने अवस्था सिर्जना गरिएको विरोधस्वरूप महासचिवकै पुतला जलाउनुपरेको अनेरास्ववियु अस्कल क्याम्पसका नेता गोपालजंग शाहीले जानकारी दिए। उनी त्यस क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन सचिव र अखिलका पूर्वअध्यक्ष पनि हुन्।
उनले यो आक्रोश पार्टीका पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा बादललाई दल नेता चयन गरेका कारण मात्रै उत्पन्न नभएको बताए।
उनले शृंखलाबद्ध आक्रोशको उत्कर्ष स्वरूप महासचिव शंकर पोखरेलको पुतला जलाइएको बताए।
‘हाम्रो आक्रोश सुरूदेखि नै थियो। खासगरी जेनजी आन्दोलनपछि पार्टी पुनर्गठन होस्, नेतृत्व फेरियोस् भन्ने चाहन्थ्यौं,’ शाहीले सेतोपाटीसँग भने, ‘महाधिवेशनले पनि पुरानै नेतृत्वलाई नै निर्वाचित गर्ने अवस्था बनाइयो। चुनावमा केही सुधार गर्छन् कि भन्ने लागेको थियो। तर छलछामपूर्वक युवालाई कम संख्यामा टिकट दिइयो। जतिले पाए, अधिकांशले जित्ने अवस्था बन्यो।’
फागुन २१ गतेको निर्वाचनले राजनीतिक पुस्तान्तरण गरिसक्दा पनि नेतृत्व नसच्चिएपछि आक्रोश पोख्नुको विकल्प नरहेको उनले बताए। बुधबार छलछामपूर्वक सुहाङले प्रस्तावक र समर्थसमेत नपाउने अवस्था सिर्जना गरेपछि महासचिवसहित पार्टी पदाधिकारीको उपादेयता नै सकिएको आफूलाई लागेको उनले बताए।
‘देशले युवा खोजिरहेको छ। देशले सुहाङ आओस् भन्ने चाहिरहेको छ। तर पार्टी नेतृत्व बादल बनाउन लागिपर्छ भने अब यो नेतृत्व काम छैन। नफाली हामी विश्राम लिँदैनौं,’ उनले भने।
उनले सत्ता, पार्टी राजनीति पुस्तान्तरण भइसकेको बताउँदै एमालेमा विशेष महाधिवेशन अपरिहार्य रहेको बताए। ११ औं महाधिवेशनले अहिलेको समयको माग बोक्न नसक्ने र नेतृत्व पनि असान्दर्भिक भइसकेको उनले धारणा राखे।
‘हाम्रो व्यक्ति विशेषप्रति आक्रोश छैन। पार्टी आन्दोलन जोगाउनु छ। हाम्रो भविष्य जोगाउनु छ। त्यो अब विशेष महाधिवेशनबाट मात्रै सम्भव छ,’ उनले भने।