आजबाट सुरू हुने प्रतिनिधिसभाको पहिलो बैठकमा गृहमन्त्री सुधन गुरूङले तीन अध्यादेश पेस गर्दै छन्।
उनले 'मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२', 'प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२' र 'नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२' पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ।
त्यसअघि सभाका ज्येष्ठ सदस्य/सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद गठनसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउनेछन्।
ज्येष्ठ सदस्य केसीले आफ्नो अनुपस्थितिमा बैठक सञ्चालन गर्ने अन्य तीन जनाको नाम पनि प्रस्ताव गर्ने छन्।
आज बैठकको अन्त्यमा सभामुखले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधासभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहोराको शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।
संविधानको धारा धारा ९१ अनुसार प्रतिनिधिसभाका सभामुख चयनका लगि प्रक्रिया आरम्भ पनि हुनसक्छ। संविधानले पहिलो बैठक बसेको १५ दिनभित्रै सभामुख र उपसभामुख चयन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ।
सामान्यतया पहिलो बैठकबाटै सभामुखको निर्वाचनको कार्यतालिका प्रकाशित गर्न महासचिवलाई जिम्मेवारी तोक्ने गरिएको छ। संसद सामान्यतया प्रतिनिधिसभा नियमावली अनुसार चल्छ। नियमावलीमा नभएका कुरा संसदीय व्यवस्थाका परम्परा अनुसार अघि बढ्छन्।
सभामुखको निर्वाचन सम्पन्न भएपछि उपसभामुखको चुनाव हुन्छ। सभामुख र उपसभामुख नै १५ दिनभित्र चयन गर्नुपर्ने भएकाले समयको चापलाई मध्यनजर गर्दै पहिलो बैठकबाटै सभामुख चयनका लगि प्रक्रिया आरम्भ हुन्छ।
संसद्का बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
संघीय संसद्अन्तर्गतको माथिल्लो सभा (राष्ट्रियसभा) को बैठक भने संघीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ।
राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगले यही चैत ५ गते 'प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन' राष्ट्रपतिसमक्ष बुझाएको थियो।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ।