श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद हर्क साम्पाङले संसद बैठकमा बोल्न कम समय दिइएकोमा असन्तुष्टि जनाएका छन्।
आज दिउँसो २ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। बैठकमा शीर्ष नेता बोल्ने कार्यक्रम छ।
‘सात मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो, सात मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा आज पोस्ट गरेका छन्।
साथै उनले देशको स्वाधीनता, सम्प्रभुता अनि नेपाली जनताको पीर व्यथा र विकासको आकांक्षालाई लिएर धेरै समय संसदमा बोल्न मन रहेको पनि बताएका छन्।
संसदमा प्राय: १ घन्टा समय छुट्टाएर दलदेखि स्वतन्त्र सांसदसम्मलाई दलीय हैसियतअनुसार बोल्न समय दिइन्छ।
संघीय संसद सचिवालयले बुधबार राखेको छलफलमा पनि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले बोल्न धेरै समय दिनुपर्ने कुरा राखेका थिए।