प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
बुधबार बसेको अध्यक्ष परिषद् बैठकले केन्द्रीय कमिटिको बैठक आगामी वैशाख तेस्रो साता बस्ने र त्यसभन्दा अगाडि अध्यक्ष परिषद्को तयारी बैठक गर्ने निर्णय गरेको अध्यक्ष सन्तोष परियारले जानकारी दिए।
अध्यक्ष परिषदका सदस्यहरू दुर्गा सोब, सुदन किराती र ओजस्वी भट्टराईले पदबाट दिएको स्रोतको भनाइ छ।
अध्यक्ष परिषदका सदस्यहरूले धमाधम राजीनामा बुझाएपछि केन्द्रीय समितिमा छलफल हुन लागेको हो।
अध्यक्ष परिषद् बैठकपछि परियारले जारी गरेको विज्ञप्तिमा कसकसले राजीनामा दिएको भन्ने खुलाइएको छैन। तर पार्टीका नेताले अध्यक्ष परिषदका ३ जनाले राजीनामा दिएको बताएका छन्।
त्यस्तै अध्यक्ष परिषद् सदस्य ओजस्वी भट्टराईले आफूहरू केन्द्रीय समिति बैठकमा सहभागी हुने बताइन्।
राजीनामाबारे सोध्दा उनले यो आन्तरिक विषय भएको प्रतिक्रिया दिएकी छन्।
‘विभिन्न तह र भूमिकामा रहनुभएका साथीहरूबाट आएको राजीनामा र पार्टीको विभिन्न जिम्मेवारीमा रहेका साथीहरूबाट विगतमा पार्टी हित विपरित भएका कृयाकलाप उपर छलफल गर्दा उक्त राजीनामा र पार्टी हितविपरीतका गतिविधिहरूको आवश्यक कार्वाहीका लागि आगामी केन्द्रीय कमिटीको बैठकमा प्रस्ताव गर्ने निर्णय गरियो,’ अध्यक्ष परिषदका सदस्य सन्तोष परियारले भने।