नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गरेको छ।
प्रतिनिधि सभाको आजबाट सुरू भएलगत्तै बोल्दै एमाले सांसद गुरू बरालले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गरेका हुन्।
‘आज देशमा संविधानको बर्खिलाप गतिविधि भइरहेका छन्। फौजदारी अपराध संहिताको धारा ८१ र ८२ को गलत प्रयोग गरी हाम्रो अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ,’ बरालले संसदमा भने, ‘उहाँहरूलाई अविलम्ब रिहा गरियोस्।’
उनले गौरिबहादुर कार्की आयोगको प्रतिवेदनले भदौ २३ बारे बोलेको तर २४ गतेको कुनै कुरा नउठाएको भन्दै अहिले सरकारले समिति बनाएर छानबिन गर्ने कुराप्रति पनि प्रश्न उठाए।
‘एउटै घटना दुईवटा आयोग बनाएर छानबिन गर्ने कुरा कति उचित हो?,’ उनको भनाइ थियो।
अध्यक्ष ओली पक्राउबारे एमालेले देशव्यापी शान्तिपूर्ण आन्दोलन गरेको तर सरकारले दमन गरेको बताए। प्रतिनिधि सभा सदस्य शाजिदा सिद्धिकि, विष्णुमाया विकलगायत एमालेका नेता–कार्यकर्तालाई घाइते बनाइएको भन्दै सरकारी दमनको पनि छानबिन गर्न गृहमन्त्री सुधन गुरूङ समक्ष माग गरे।