राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले न्याय पाउने पहिलो हक सहिदकी आमाको भएको बताउँदै त्यसलाई राजनीतिक प्रतिशोधन नभन्न आग्रह गरेका छन्।
आज प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले सन्दर्भ उल्लेख नगरी न्याय दिलाउन चालिएको कदमलाई राजनीतिक प्रतिशोध नभन्न आग्रह गरेका हुन्। उनले आस्थाका आधारमा फरक व्यवहार सरकारले नगर्ने पनि बताए।
‘न्याय पाउने पहिलो हक सहिदकी आमाको हो। त्यसलाई प्रतिशोध भन्न पाइने छैन,’ उनले भने।
सभापति लामिछानेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेकातर्फ संकेत गरेका हुन्।
उनले यो सरकार जेनजी विद्रोहको पनि सन्तान भएको बताए। विगतका सरकारबाट नियुक्ति पाएकाहरूलाई राजीनामा दिन आग्रह गरे।
‘हिजो संविधान र कानुनको आवरणमा नेता र पार्टीको सिफारिसबाट नियुक्ति लिएकाहरूले स्वेच्छिकरूपमा राजीनामा दिँदै विधिको पालना गर्नमा सहयोग गरिदिनुहुन म अपिल गर्न चाहन्छु,’ उनले भने।