राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दलित समुदायमाथि राज्यले गरेको विभेदप्रति रोष्ट्रमबाट माफी मागेका छन्।
बिहीबार प्रतिनिधि सभामा बोल्दै सभापति लामिछानेले माफीको मूल्य अब न्यायले सुनिश्चित गर्ने पनि बताए।
‘आजसम्मको विभेद सामाजिक गल्ती थिएन। संगठित अपराध थियो। यो देश किन बनेन थाहा छ– किनकि जसका हातमा सीप थियो, उसलाई हामीले अछुत मान्यौं। अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन। म सिंगो पार्टी, प्रधानमन्त्रीज्यू र सरकारको तर्फबाट पनि माफी माग्छु। र यो माफीको मूल्य अब न्यायले गर्नेछ भन्ने सुनिश्चित गर्न चाहन्छु,’ उनले भने।
उनले खगेन्द्र सुनारको प्रसंग पनि जोडे। सुनारले आफ्नो विवादित अभिव्यक्तिका कारण चुनावका दौरा माफी मागेका थिए।
‘मेरा मित्र खगेन्द्र सुनार निर्वाचित भएर यहाँ आउनुभएको छ। चुनावी दौडका सिलसिलामा उहाँका विषयमा विवाद आउँदा थाहा छैन, उहाँले गल्ती गर्नुभयो गर्नुभएन तर उहाँले माफी माग्नुभयो, यति छिट्टै माफी माग्नुभयो। भन्नुभयो– मबाट त्यस्तो गल्ती भएजस्तो त लाग्दैन, तर गल्ती भएको रहेछ भनेर माफी माग्नुभयो। आज यो सदनबाट सिंगो देशबाट भन्न चाहन्छु। गल्ती गरेको हो कि होइन भनेर अन्यौल हुँदा खगेन्द्र सुनारले माफी मागे। खगेन्द्र सुनारहरूमाथि युगौंयुगदेखि गरिएको अन्यायका लागि हामीले माफी माग्यौं?,’ उनले भने।
यो देशको दलित समुदायमाथिसार्वजनिक क्षमायाचनाका साथ केही भन्नु छ भन्दै उनले उनले सरकारका तर्फबाट सदाब्दीयौंदेखिको विभेदको, अन्यायको, अत्याचारको इतिहाससँग पहिलोपटक सामूहिक सार्वजनिक माफी माग्न चाहेको बताए। र, हात जोडेर माफी मागे।