प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले अँध्यारो चिर्न आफूले संसदीय दल नेतामा दाबी गरेको बताएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले आफ्नो उम्मेदवारी कुनै पदको तृष्णा वा व्यक्तिगत महत्त्वाकांक्षा नभई पार्टीभित्र नयाँ आशा, उत्साह र गति पैदा गर्ने एउटा प्रयास भएको बताएका छन्।
‘मेरो उम्मेदवारी कुनै पदको तृष्णा वा व्यक्तिगत महत्त्वाकांक्षा थिएन। बरू, यो पार्टीभित्र नयाँ आशा, उत्साह र गति पैदा गर्ने एउटा प्रयास थियो। म जानकार छु, हाम्रो मनोविज्ञान र गरिआएको अभ्यासका आधारमा मेरो यो कदम व्यक्तिगत रूपमा फाइदाजनक नहोला। मलाई यो पनि बोध छ, बाक्लो अँध्यारो चिरेर उज्यालो ल्याउन कोही न कोही त स्वयं मैनबत्ती बनेर जल्नैपर्छ,’ उनले भनेका छन्।
आफूजस्तै हजारौं युवाहरूको मनमा सल्किएको चिन्ताको आँधीबेहरी देखेर आफूले कालकूट विष पिएको उनको दाबी छ।
प्राविधिक परिणाम जे–जस्तो आए पनि पार्टी र आन्दोलनलाई जीवन्त राख्न यस्ता अभ्यासहरू जारी राख्नुपर्छ भन्नेमा आफू अविचलित रहेको बताएका छन्।
त्यही बुझाइ र बोधका साथ नयाँ आशा सिर्जना गर्न सकिन्छ भन्ने निचोडसहित आफूले दलको नेतामा उम्मेदवारी दिने निधो गरेको तर प्रयास सफल नभएको बताएका छन्।
‘अबको समयमा सबैले संयमता अपनाएर अग्रजहरूको अनुभव र ज्ञानको सम्मान गर्दै युवाहरूले आफ्नो ऊर्जा पार्टीको हितमा खर्चिनुपर्छ। सामाजिक सञ्जालमा एकअर्काप्रति लक्षित नकारात्मक टिप्पणीले हाम्रो साझा प्रयासलाई मात्र कमजोर बनाउँछ। म पुनः विनम्रताका साथ पार्टी, नेतृत्व र नेताहरूका विरूद्ध आवेगपूर्ण टिप्पणी नगरिदिनु हुन अनुरोध गर्दछु,’ उनले भनेका छन्,‘मैले हिजो पनि भनेको छु– पार्टीलाई नयाँ जीवन दिने अभियान अन्त्य भएको होइन, सुरू मात्रै भएको हो।’
बुधबार नेम्वाङले एमाले संसदीय दल नेतामा दाबी गरेका थिए। तर उनले समर्थक र प्रस्तावक नै जुटाउन नसकेपछि पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्विरोध भएका थिए।