श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पहिलो प्रतिनिधि सभा बैठकमा विभिन्न मागहरू उठाएका छन्।
बिहीबार दिउँसो सुरू भएको बैठकमा साम्पाङले बैठक ढिला गरी सुरू भएकोमा आपत्ति जनाए।
उनले आजको बैठक १६ मिनेट ५५ सेकेन्ड ढिला सुरू भएको बताए।
‘अघिल्लो शपथ ग्रहणको दिन पनि हामी १२ मिनेट ४६ सेकेन्ड ढिला भएका थियौं। आज १६ मिनेट ५५ सेकेन्ड ढिला भएका छौं। जनताले हामीलाई ढिला गर भनेर पठाएको होइन। त्यसो हुनाले प्रत्येक मिनेटको महत्व सबैले बुझौं,’ उनले भने, ‘नेपाली समय हो। २ बजेको बैठक ३ बजे, ४ बजे जहिले गए पनि हुन्छ भन्ने भाष्य उन्नति गर्न नसक्नुको कारण हो।’
उनले यसरी अबका दिनमा ढिला नगर्न अनुरोध गरे।
यसबीच उनले आफ्ना केही मागहरू बुँदागत रूपमा पेस गरेका थिए।
उनले एमसिसी परियोजनाको खारेजी गर्न माग राखेका छन्।
त्यस्तै, सीमा क्षेत्रमा छिमेकी देशको गतिविधिको निगरानी राख्न पनि उनले माग गरे।
प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थालाई छलफलमा ल्याउन उनको माग छ।
भदौ २३ र २४ गते भएको घटनामा छानबिनका लागि उच्चस्तरीय आयोग समेत गठन गर्नुपर्ने उनको भनाइ थियो। उनले विद्यार्थीलाई आन्दोलनमा बोलाउने र गोली चलाउनेमाथि अनुसन्धान गर्न माग राखे।
सम्पत्ति छानबिनको विषय अहिलेका सांसद तथा मन्त्रीहरूबाटै सुरूआत गर्नुपर्ने पनि उनले बताए।
डोजर चलाएर सुकुम्बासी लगाउने काम अबका दिनमा नहोस् भनेर सुझाव समेत उनले दिए।
त्यसैगरी शिक्षा क्षेत्रमा सुधार गर्न पढाउने शैलीमा परिवर्तन गर्न माग राखे।
‘पढाउने शैली परिवर्तन गरी तीन दिन पढाउने, बाँकी उत्पादक क्षेत्रमा लगाउने,’ उनले भने।
अन्य मागहरू समयको अभाव भएकाले उनले सभामुख समक्ष पेस गरेका थिए।