नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन 'अनन्त' ले आफ्नो दलको उतारचढावबाट शिक्षा लिएर अघि बढ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सचेत गराएका छन्।
प्रतिनिधि सभाको पहिलो बैठकमा पार्टीका तर्फबाट धारणा राख्ने क्रममा पुनले आफूहरूले दुई पटकसम्म दुई तिहाइ जनमतको सदुपयोग गर्न नसकेको भन्दै त्यसलाई शिक्षाका रूपमा ग्रहण गरेर अघि बढ्न सुझाए। ०६४ सालमा तत्कालीन नेकपा (माओवादी) र ०७४ मा एमाले र माओवादी केन्द्र मिलेर ल्याएको दुई तिहाइको स्मरण उनले गरे।
‘सत्तारूढ दलको सभापतिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन्द्र शाह र यहाँहरू सबैलाई आफ्नो के अनुभव राख्न चाहन्छु भने ०६४ सालतिर तत्कालीन नेकपा माओवादीले झण्डै–झण्डै यस्तै विजय हासिल गरेको थियो। ०७४ सालतिर हामी दुई दल मिलेर प्रतिस्पर्धा गर्यौं। पछि पार्टी एकता गर्यौं। झण्डै–झण्डै दुई तिहाइको बहुमत थियो,’ पुनले भने, ‘त्यसलाई हामीले सदुपयोग गर्न जानेनौं/सकेनौं, हाम्रा सीमाहरू व्यक्त भए। हाम्रा कमीहरूबाट शिक्षा लिएर यहाँहरूले पार्टीलाई र देशलाई लैजाने कुरा गर्नुस्। हाम्रा आफ्नै अनुभव छ। त्यसमा हामी तपाईंहरूलाई सहयोग गर्न तयार छौं।’
चुनावमा जित्नेले अहंकार र हार्नेले लघुताभास गर्न जरूरी नरहेको चर्चा गर्दै पुनले आफ्ना विचार र सिद्धान्तहरूका आधारमा देश र जनतालाई केन्द्रमा राखेर सहकार्य गर्न सत्ता र प्रतिपक्षबीच सहकार्य जरूरी रहेको पुनले औंल्याए।
उनले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धीबाट कोही पनि पछि फर्कन नसक्ने स्पष्ट गरे।
‘चुनावबाट जनमत आएको छ र हामीले स्वीकार गरेका छौं। नेपाली कम्युनिस्ट पार्टी लोकतान्त्रिक विचार, व्यवहार र आचरणमा विश्वास गर्छ। हामी रचनात्मक रूपले सरकारलाई सहयोग गर्न तयार छौं। त्यसैगरी आलोचनात्मक प्रतिपक्षका रूपमा हामीले भूमिका खेल्ने छौं। यो सबै उपलब्धीको जगमा १० औं हजारको बलिदान छ। जनयुद्धको बलिदान, जनआन्दोलनको बलिदान, मधेस आन्दोलनको योगदान र पछिल्लो जेनजी नवयुवाहरूको आन्दोलनको योगदान छ,’ पुनले भने।
लोकतन्त्र, गणतन्त्र र समावेशीतामा सम्झौता भए खबरदारी गर्ने भन्दै पुनले त्यसलाई अझै परिमार्जन गर्ने तथा लोकतन्त्रको सर्भिसिङ, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र रूपान्तरणका लागि भएका राम्रा अभ्यासलाई निरन्तरता दिने विषयमा आफूहरूको सरकारलाई साथ र समर्थन रहने प्रतिबद्धता जनाए।
देशभित्रै रोजगारी सृजना, अर्थतन्त्रको सुदृढीकरण, युवाहरुलाई रोजगारी सृजना गर्ने कुरामा सरकारलाई सहयोग रहने पुनले बताए।
यस्तै उनले विश्व भू–राजनीति संवेदनशील अवस्थामा रहेको र त्यसको प्रभावबाट नेपाल पनि अछुतो नरहेको भन्दै परिपक्व ढंगले कूटनीतिक सम्बन्ध सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए। उनले परिर्वनका लागि भएका आन्दोलनका दायित्व सरकारले लिने विश्वास व्यक्त गरे।
पुनले वर्तमान सरकारसँग विगतका दायित्वहरू पनि रहेको भन्दै शान्ति सम्झौता र संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम सम्झाए।
‘हिजोका जिम्मेवारी मात्र होइन, हिजोका दायित्वहरू पनि छन् । विभिन्न कारणले पुरा नभएका शान्ति सम्झौता, संक्रमणकालीन न्यायका विषय पनि छन्। त्यसमा पनि सरकारले स्वामित्व लिनेछ। किनभने कुनै पार्टी विशेषको होइन, परिवर्तनका लागि भएका आन्दोलनका दायित्वहरू छन्। त्यसमा हामी सहकार्य गर्न तयार छौं। यहाँहरूलाई हाम्रो सहयोग रहनेछ,’ पुनले भने।