नेकपा एमाले संसदीय दल नेता तथा सांसद रामबहादुर थापा बादलले भदौ २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा जेनजी आन्दोलन गरिएको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकम बोल्दै दल नेता बादलले फागुन २१ गते आम निर्वाचनमार्फत ‘नीलो क्रान्ति’ लाई वैधानिकता प्रदान गरिएको टिप्पणी गरे।
‘त्यसैगरी चैत १३ गते भव्य धार्मिक अनुष्ठानसहित बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो। यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहजीलाई म नेकपा एमालेको तर्फबाट धेरै–धेरै बधाई भन्न चाहन्छु,’ उनले भने।
यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा कसको निर्णायक भूमिका रह्यो भन्ने स्पष्ट पार्न चाहेको भन्दै यसमा मुख्यतयाः नेपाली सेना, कर्मचारीतन्त्र (ब्युरोक्रेसी), सुशीला कार्की आयोग, बारबरा फाउन्डेसन, एनजीओ आदि संस्था तथा पात्रहरूको भूमिका निर्णायक रहेको टिप्पणी गरे।
‘यस जादुमय विजयका लागि बाह्य रूपमा कसले निर्णायक भूमिका खेल्यो भन्ने कुरा असंख्य तथ्यले स्पष्ट पारेका छन्। अदृश्य शक्तिहरू, एआई, एल्गोरिदम र गोयबल्स शैली अपनाउनेहरूले राष्ट्रियता, लोकतन्त्र र समृद्धिका नायकहरूलाई खलनायक र हत्याराको रूपमा स्थापित गरे। देश जलाउने र राष्ट्रिय पहिचान मेटाउने पात्रहरूलाई महानायक बनाउने ती अदृश्य पात्रहरूले बाह्य रूपमा निर्णायक भूमिका खेलेका छन्,’ उनले भने।
यो चमत्कारिक विजयले केही असाधारण प्रश्नहरू जन्माएको उनको भनाइ थियो
कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, बालुवाटार र सर्वोच्च अदालत जस्ता संरचनाहरू जलाइयो भन्दै उनले प्रश्न गरे।
कुन उद्देश्यका लागि हतियारधारी समूहहरू २३–२४ गते तिलस्मी रूपमा प्रकट भए भन्दै वर्तमान सरकारलाई प्रश्न गरेका थिए।
‘कुन उद्देश्यका लागि गैरकानूनी ढंगबाट पूर्वप्रधानमन्त्री तथा गृह मन्त्रीलाई गिरफ्तार गरियो र राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने प्रपञ्च रचियो? कुन उद्देश्यका लागि देशव्यापी रूपमा दमन चक्र र राज्य आतंक मच्चाइयो? कुन उद्देश्यका लागि विद्यार्थी तथा पेशाकर्मीहरूको संगठित हुने मौलिक अधिकार खोसियो र मिडिया ट्रायल आतंकको सिर्जना गरियो?,’ उनको प्रश्न थियो।
भविष्यले यी प्रश्नहरूको सही जवाफ दिने उनले बताए। एमाले यी प्रश्नहरू सम्पूर्ण तागत का साथ राज्यलाई सोध्ने पनि बताए।
‘यो सदनमा आवाज उठाइरहनेछौं। यस क्षणमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनादेश प्राप्त नेपाली कांग्रेस, नेपाल श्रम संस्कृति पार्टी, राप्रपा र स्वतन्त्र सांसदहरूलाई पनि म बधाई र शुभकामना दिन चाहन्छु,’ उनले भने, ‘अन्तमा, यो अभूतपूर्व विजयले पराजित पक्षलाई पनि गम्भीर शिक्षा दिएको छ र आफ्ना कमी–कमजोरीहरू सच्याउने अवसर दिएको छ। यो पराजय केवल अस्थायी हो र पराजित सेनाले सधैं पराजयलाई विजयमा बदल्न सक्छ।’