पर्वतारोहणमा गएका पर्यटकको फेक उद्धार गरेको आरोपमा मुद्दा चलेका १० जनालाई धरौटीमा छाड्न आदेश भएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले १० जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।
एभरेस्ट एक्स्पिरियन्स एन्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे, म्यानेजर सुवास केसी, माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल र नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारीसँग ३० लाख रुपैयाँ धरौटी माग भएको छ।
नेपाल चार्टर्ड सर्भिस प्रालिका म्यानेजर विवेकराज थपलियालाई एक लाख रुपैयाँ धरौटी मागेको छ।
त्यस्तै, श्रिद्धी अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमल्सिना, माउन्टेन रेस्क्यू सर्भिस प्रालिका म्यानेजर विवेक पाण्डे, सन्तोष भन्ने खेमराज अधिकारी, पानारोमा हिमालयन ट्रेकिङ एन्ड एक्सपिडिसन प्रालिका सेयरधनी पासाङ शेर्पा र रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दिप तिवारीसँग ५ लाख रुपैयाँ धरौटी मागेको हो।
सरकारी वकिलको कार्यालय काठमाडौंले चैत ८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।
३२ जना प्रतिवादी कायम भएको उक्त मुद्दामा राज्य विरूद्धको कसुर गरेको आरोप छ।
माघ ११ गते सिआइबीले पर्वतारोहण गर्न आएका विदेशी पर्यटकलाई बीमाको रकम असुली गर्न संगठित रूपमा ठगी हुँदै आएको भन्ने जानकारी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पाएको थियो।
संगठित रूपमा पर्यटकलाई बिरामी भएको बताउँदै हेलिकप्टरबाट उद्धार गर्ने र अस्पतालमा भर्ना गरी बीमा दाबी गर्ने गरेको आरोप उनीहरूमाथि थियो।