संसद सचिवालयले सभामुख निर्वाचन सम्बन्धी कार्यतालिका निकालेको छ।
संसद सचिवालयले आगामी चैत २२ गते आइतबार सभामुखको निर्वाचन गर्ने तयारी गरेको छ। सोही अनुसार कार्यतालिका निकालेको हो।
‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन चैत २२ गते आइतवार विहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा गर्ने गरी माननीय ज्येष्ठ सदस्यले निर्वाचनको मिति र समय निर्धारण गर्नु भएकोले सोही नियमावलीको नियम ७ को उपनियम (१) को प्रयोजनको लागि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ,’ संसद सचिवालयले सूचनामार्फत् भनेको छ।
सूचना अनुसार शुक्रबार प्रतिनिधि सभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् प्रस्तावको सूचना अर्थात् उम्मेदवारी दर्ता हुनेछ। उक्त उम्मेदवारी दर्ताको प्रस्ताव बिहान ११ बजेदेखि बजेदेखि दिउँसो २ः०० बजेसम्म गरिसक्नुपर्नेछ।
शुक्रबार दिउँसो २ः३० बजे संसद सचिवालयले उम्मेदवारको नामावली प्रकाशित गर्नेछ।
एकभन्दा बढी उम्मेदवारी परेमा चैत २२ गते निर्वाचन हुनेछ।
उक्त दिन प्रतिनिधि सभाको बैठकमा प्रारम्भ भएपछि उम्मेदवारहरूका प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्नेछन्।
उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।
वर्तमान संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका झण्डै दुई तिहाइ (१८२ जना) सांसद छन्। रास्वपाले पार्टी उपसभापति डिपी अर्यालले उम्मेदवार प्रस्ताव गरेको छ। आज बसेको संसदीय दल बैठकले अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।