नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली सेना लगायत सुरक्षा अंगहरू, न्यायालय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति एमालेको कुनै वैरभाव नरहेको बताएका छन्।
यी संस्थाप्रति एमालेको सम्मान र विश्वास रहिरहने उनले बताएका हुन्।
एमाले दल नेता रामबहादुर थापा ‘बादल’ ले नेपाली सेना, कर्मचारीतन्त्र (ब्युरोक्रेसी), सुशीला कार्की आयोग, बारबरा फाउन्डेसन, एनजिओ आदि संस्था तथा पात्रहरूको भूमिकाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व जित हासिल गरेको बताएका थिए।
यसको काउन्टरमा भट्टराईले धारणा राखेका हुन्।
‘जनताको बहुदलीय जनवाद नेकपा एमालेको सिद्धान्त हो। प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण तथा वैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्ने जबजको मान्यता हो। जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुनः जनविश्वास आर्जन गर्ने बाटोमा जानु जबजको मर्म हो।’
‘यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा एमाले आज सरकारको विपक्षी दल हो तर राज्यपक्षीय दल हो। नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायालय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि वैरभाव छैन। त्यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहने छ,’ उनले भनेका छन्।
संसद वा सडक, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत् रहने पनि उनले बताएका छन्।