नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका योगराज (रिगल) ढकाललाई सर्वोच्च अदालतले मुद्दा पुनरवलोकन गर्न अस्वीकार गरेको छ।
न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, टेकप्रसाद ढुंगाना, नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको बृहत पूर्ण इजलासले बिहीबार पुनरवलोकन गर्न अनुमति नहुने आदेश गरेको हो।
रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए।
मानन्धरको हत्या आरोपी रिगल दुई महिनापछि भदौमा अदालतमा गई आत्मसमर्पण गरेका थिए। त्यसपछि उनी मुद्दाको किनारा नलाग्दासम्म पुर्पक्षका लागि जेल पठाइएका थिए। त्यसपछि उनी ८ वर्ष कैद सजाय भोगिसकेका थिए।
जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा मानन्धरको हत्यामा रिगललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो।
मानन्धरको हत्यामा संलग्न रहेको ठहर गर्दै अदालतले अन्य १२ जनालाई पनि कसुरअनुसार ३ वर्षदेखि १० वर्षसम्मको सजाय तोकेको थियो।
झन्डै ५० प्रतिशत सजाय भुक्तान गरिसकेपछि रिगललाई २०८० असोज ३ गते संविधान दिवसको अवसरमा रिहा गरिएको थियो।
उनी रिहा भएपछि चर्को आलोचना भएको थियो।
चेतनकी श्रीमती भारती मानन्धर शेर्पाले २०८० असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
रिटमाथि सुनुवाइ गर्दै कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगलले बाँकी सजाय काट्नुपर्ने आदेश दिएको थियो।
उक्त आदेश पछि रिगल फेरि पक्राउ परेका थिए। उनी बाँके कारागार चलान भएका थिए। यसबीच रिगलले आफूलाई फेरि कारागार पठाउने आदेशविरूद्ध पुनरावलोकनको माग राख्दै सर्वोच्च पुगे।
त्यसमाथि सुनुवाइ गर्दै बिहीबार सर्वोच्चले पुनरावलोकन गर्न अस्वीकार गरेको हो।