पर्सा जिल्ला अदालतले ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा प्रतिवादी रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वारेसमार्फत अदालतमा उपस्थित हुन अनुमति दिएको छ।
पर्सा जिल्ला अदालतका न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले बिहीबार यस्तो आदेश दिएको हो।
लामिछानेले अस्वस्थताका कारण तोकिएको तारेखमा स्वयं उपस्थित हुन नसक्ने अवस्था रहेको भन्दै वारेस नियुक्त गर्न अनुमति माग्दै निवेदन दिएका थिए।
निवेदनसँगै उपचार सम्बन्धी कागजात तथा अन्य अदालतहरूमा समेत आफूविरूद्ध फौजदारी मुद्दा चलिरहेको भन्दै तारेख पर्चाका प्रतिलिपि पेस गरिएको थियो।
उक्त निवेदनमाथि प्रतिवादी पक्षका अधिवक्ता चन्द्रिका प्रसाद पटेलले बहस गरेका थिए।
अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८९ र दफा ९५ मा रहेको कानुनी व्यवस्थालाई आधार मान्दै विशेष परिस्थितिमा वारेस राख्न सकिने व्यवस्था रहेको उल्लेख गरेको छ।
लामिछाने अस्वस्थ रहेको तथा विभिन्न अदालतमा एकै समयमा तारेख पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यक परेको अवस्थामा वारेसमार्फत अदालतमा उपस्थित गराउने शर्तसहित वारेस राख्न अनुमति दिइएको आदेशमा उल्लेख छ।