नेकपा एमालेको आकस्मिक सचिवालय बैठक बस्दैछ। शुक्रबार दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको एक नेताले बताए।
उनका अनुसार आजको सचिवालय बैठक बिहीबार पार्टी संसदीय दल नेता रामबहादुर थापा ‘बादल’ ले संसदमा दिएको अभिव्यक्तिमा केन्द्रित छ।
‘हिजो बादलजीले जे बोल्नुभयो। त्यो पार्टीको आधिकारिक लाइनविपरीत छ। सेना, अदालत, कर्मचारीतन्त्र, विदेशी कूटनीतिक नियोगजस्ता संस्थालाई लाञ्छित गर्ने गरी अभिव्यक्ति आउनु दुःखद् कुरा हो,’ ती नेताले भने, ‘यसलाई अविलम्ब सच्याउनुपर्छ।’
बिहीबार नै उपाध्यक्ष विष्णु पौडेलले दल नेता बादलले प्रतिनिधि सभाको पहिलो बैठकमा दलका तर्फबाट राखेको विचार पार्टीको स्थापित नीति, मान्यताविरीत रहेको बताएका थिए। उनले यसबारे आज सचिवालय बैठक बसेर छलफल गर्ने बताएका थिए।
यस्तै, उपमहासचिव योगेश भट्टराईले पनि नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायलय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि वैरभाव नरहेको भन्दै बादलको अभिव्यक्तिप्रति असहमति राखेका थिए।
के बोलेका थिए बादलले?
सम्मानीय सभामुख महोदय ,
सर्वप्रथम म, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका लागि आफ्नो अमूल्य जीवनको आहुति दिने,भाद्र २३÷२४ लगायत,सम्पूर्ण ज्ञात÷अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
सम्मानीय सभामुख महोदय,
नेपालमा मा भाद्र २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा ‘रग क्रान्ति’ सफलतापूर्वक सम्पन्न भयो।
फागुन २१ गते आम निर्वाचन मार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो ।
चैत्र १३ गते भव्य धार्मिक अनुष्ठान सहित श्री बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथग्रहण गराइयो। यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाहलाई म नेकपा (एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु ।
सम्मानीय सभामुख महोदय,
यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क–कसको निर्णायक भूमिका रह्यो? तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन, एनजिओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो।
त्यसैले, ती संस्था तथा पात्रहरूलाई म हरूलाई पनि म नेकपा (एमाले) को तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु।
सम्मानीय सभामुख महोदय,
यो विजयका लागि बाह्य दृष्टिले ककसले निर्णायक भूमिका निर्वाह गरे?
असंख्य तथ्यहरूले के स्पष्ट गर्दछन् भने, अदृश्य शक्तिहरू( डिप स्टेट) टिओबी एआई अल्गोरिदम,गोयवल्सहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र संघीयता, धर्म निरपेक्षता, शान्ती र समृद्धिका नायकहरूलाई ‘खलनायक’ र ‘हत्यारा’ को रूपमा स्थापित गरे, जसले सिंहदार जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरुलाई ‘महानायक’ बनाए ती संस्था तथा पात्रहरूले नै बाह्यरूपमा यो जादुमय विजयमा निर्णायक भूमिका निर्वाह गरे।
त्यसैले, यस ऐतिहासिक क्षणमा म ती सबैलाई पनि नेकपा (एमाले) को तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु।
सम्मानीय सभामुख महोदय,
यो चमत्कारिक विजयले केही असाधारण प्रश्नहरू जन्माएको छ
१. कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शितल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनीतिक नेतृत्व र निजी निवास, प्रहरी चौकी, व्यावसायिक प्रतिष्ठान आदि सुनियोजित ढंगबाट जलाइयो?
२. कुन उद्देश्य प्राप्तिका लागि कसले ती अबोध विद्यार्थीहरूलाई निषेदिक क्षेत्र तोड्न उक्साइयो?
३. कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टिओबीहरू २३–२४ गते तिलस्मी रूपमा प्रकट भए?
४. कुन उद्देश्य प्राप्तिका लागि गैरकानुनी ढंगबाट पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीहरूलाई गिरफ्तार गरियो?
५.कुन उद्देश्य पूर्ति गर्न राजनीतिक नेतृत्वहरूलाई गिरफ्तार गर्ने प्रपञ्च रचिँदै छ ?
६.कुन उद्देश्य पूर्तिका लागि देशव्यापी दमनचक्र र राज्य आतंक मचाइँदै छ?
७. कुन उद्देश्य प्राप्तिका लागि विद्यार्थी तथा पेशाकर्मीहरूको सङ्गठित हुने ‘मौलिक अधिकार’ बलात खोसिँदै छ?
८.कुन उद्देश्यका लागि मिडिया ट्रयाल, साइबर आतंक सिर्जना गरिँदैछ?
सम्मानीय सभामुख महोदय
निश्चय पनि भविष्यले यसको सही जवाफ दिँदै जानेछ। तर यी प्रश्नहरू र यस्तै–यस्तै प्रश्नहरू हामी सम्पूर्ण तागत सहित राज्यलाई सोध्ने छौं, निरन्तर यो गरिमामय सदनमा हाम्रो आवाज घन्काउने छौं।