बिहीबार प्रतिनिधि सभा बैठकमा संसदीय दल नेता राम बहादुर थापा बादलको अभिव्यक्तिलाई लिएर नेता सुरेन्द्र पाण्डेले पनि आपत्ति जनाएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै नेता पाण्डेले पाण्डेले आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगर्न आग्रह गरेका छन्।
बिहीबार संसदमा दल नेता बादलले रास्वपाको अभूतपूर्व जीतमा आन्तरिक र बाह्य शक्ति दुवैको भूमिका रहेको आरोप लगाएका थिए।
मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन, एनजिओ आदि संस्था र पात्रहरूले रास्वपाको जितमा निर्णायक भूमिका खेलेको आरोप लगाएका थिए।
त्यस्तै टिओबी, एआई अल्गोरिदम लगायतले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, शान्ती र समृद्धिका नायकहरूलाई खलनायक र हत्याराका रूपमा स्थापित गरेको र सिंहदरबार जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरूलाई महानायाक बनाएको बताएका थिए।
'हिजो संसदमा 'षड्यन्त्र'का लामा कथाहरू सुनियो। सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो - सबै दोष अरूलाई! हामी पनि दोषी छौं - यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र? अब यो ‘घेराबन्दी’मा पर्यौं भन्ने “राष्ट्रवादी” राजनीति निकै पुरानो भयो। अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ-आफ्ना एजेन्डा मात्र हुन्,' बादलको भनाइमा असहमति जनाउँदै नेता पाण्डेले फेसबुकमा लेखेका छन्।
उनले भदौ २३/२४ को छानबिन हुनुपर्ने तर एमालेको राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्न नहुने पनि बताएका छन्।
बादलको अभिव्यक्तिले एमालेमा तरंग नै पैदा गरेको छ।
यसअघि उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई लगायतले उनको भनाइप्रति असहमति जनाएका थिए।
सोबारेमा छलफल गर्न आज एमालेको सचिवालयको आकस्मिक बैठक बस्दैछ।