आम आदमी पार्टीले राज्य सभा उपनेता राघव चड्डाको जिम्मेवारी खोसेको छ।
आपले राज्य सभा उपनेताको जिम्मेवारी चड्डाबाट खोसेर अशोक मित्तललाई दिएको भारतीय अखबार इन्डियन एक्सप्रेसले जनाएको छ।
राज्यसभा सचिवालयलाई आपले मित्तललाई नयाँ उपनेता नियुक्त गर्न पत्राचार गरेको छ।
पत्रपश्चात सचिवालयले राज्यसभाको वेबसाइटमा पनि मित्तल आपको उपनेताका रूपमा अद्यावधिक गरिसकेको छ।
चड्डा सन् २०१२ मा आपमा आबद्ध भएका थिए। उनी २०२२ देखि राज्यसभा सदस्य छन्।
पछिल्लो समय उनीमाथि पार्टी गतिविधिबाट टाढिँदै गएको आरोप छ।
चड्डा पार्टीको महत्त्वपूर्ण राजनीतिक क्षणहरूमा पनि अनुपस्थित रहँदै आएको भनेर इन्डियन एक्सप्रेसले लेखेको छ।
अरविन्द केजरीवाल र मनीष सिसोदिया 'झुटा' मुद्दामा जेलमा रहँदा चड्डा लन्डन गएका थिए। त्यतिबेला उनी आँखा उपचारका लागि गएको भनिएको थियो। पार्टीको चुनौतीपूर्ण अवस्थामा पनि उनको भूमिका कमजोर देखिएको र केजरीवाल लगायतका नेताहरू रिहा भएपछि पनि पार्टी गतिविधिमा सहभागी नभएको आरोप छ।
२०२५ को दिल्ली विधानसभा चुनाव अभियानमा पनि उनी न्यून रूपमा मात्र देखिएको पार्टी स्रोतहरूले बताएका छन्।
पार्टी विरूद्ध गतिविधि गरेको आरोप नभए पनि उनले जे भूमिका खेल्नुपर्ने हो त्यो नदेखिएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका थिए।
यद्यपि उनलाई तत्काल पार्टीबाट निलम्बन गर्ने योजना भने नरहेको र उनी आफैले चाहेसम्म राज्यसभा सदस्यका रूपमा कायम रहन सक्ने जनाइएको छ।
पश्चिम बंगाल, तामिलनाडू, केरल, आसाम र पोण्डुचेरीमा विधान सभा चुनाव हुँदै छ।
आपले आगामी विधानसभा चुनाव प्रचारका लागि स्टार प्रचारको सूची बनाएको छ। त्यसमा पनि चड्डालाई समावेश नगरिएको इन्डियन एक्सप्रेसले लेखेको छ।
यसले पनि चड्डाको भूमिकाप्रति पार्टीभित्र असन्तुष्टि बढेको संकेत देखिएको थियो।
चड्डाले यस विषयमा अहिलेसम्म प्रतिक्रिया दिएका छैनन्।
नयाँ उपनेता मित्तलले भने यो परिवर्तनलाई सामान्य प्रक्रिया भन्दै भविष्यमा अरू सांसदलाई पनि अवसर दिने उद्देश्यले यस्तो निर्णय गरिएको बताएका छन्।