अमेरिकी मध्यावधि चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले नमिठो हार ब्यहोर्यो।
उसले मध्यावधि चुनावबाट हाउस अफ रिप्रिजेन्टेटिभ (प्रतिनिधि सभा) र सिनेट दुवैमा बहुमत गुमायो।
चुनाव हारेपछि ट्रम्प केही नीरिह सुनिन थालेका छन्। पछिल्लो समय डेमोक्र्याटिक पार्टीप्रति पनि उनी नरम सुनिन थालेका छन्।
चुनाव हारेपछि उनी पार्टीभित्रै पनि रक्षात्मक देखिएका छन्। पार्टीभित्र उनले राष्ट्रपतिको कुर्सीमा बसेर लिएका नीतिहरूको आलोचना हुन थालेका छन्।
यसबीच ट्रम्पले मध्यावधि चुनाव हार्नुका केही कारणहरू खुलाएका छन्।
अमेरिकी अनलाइन सिबिएस न्युजसँगको ६० मिनेट लामो अन्तर्वार्तामा ट्रम्पले यसपालिको मध्यावधि चुनावमा रिपब्लिकन पार्टी पराजित हुनु पछाडिका चार प्रमुख कारणबारे विस्तृत खुलाएका छन्।
पहिलो, इरान युद्धप्रति असन्तुष्टि।
ट्रम्पले चुनावमा रिपब्लिकन पार्टीले हार्नुको प्रमुख कारण इरान युद्धप्रति अमेरिकी मतदाताको असन्तुष्टि भएको बताएका छन्।
उनका अनुसार मतदाताले युद्ध मन पराएनन्। युद्धका कारण पेट्रोलको मूल्य बढेपछि उनीहरूको असन्तुष्टि झन् बढ्यो।
अमेरिकामा इरान युद्धप्रति असन्तुष्टि कति व्यापक छ भन्ने कुरा चुनावी सर्वेक्षणले पनि देखाएको छ। सिबिएस न्युजको निर्वाचनपछिको मतदाता सर्वेक्षणअनुसार करिब ६० प्रतिशत मतदाताले इरानमाथि सैन्य कारबाही गर्ने अमेरिकी निर्णय गलत भएको बताएका थिए। रिपब्लिकन पार्टीकै करिब एक चौथाइ मतदाताले पनि त्यसलाई गलत मानेका थिए।
उपराष्ट्रपति जेडी भान्सले पनि चुनावी पराजयको मुख्य कारण इरान युद्ध भएको बताएका थिए। उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘हामीले चुनाव हार्नुको कारण युद्ध हो।’ युद्ध अन्त्य गर्नुपर्ने र त्यसले अमेरिकी मतदाताको प्राथमिकतामा असर पारेको उनको भनाइ थियो।
अन्तर्वार्तामा डौथाटले भान्सको यही भनाइबारे सोध्दा ट्रम्पले त्यससँग असहमति नरहेको बताए। उनले इरानलाई आणविक हतियार बनाउन नदिन युद्ध आवश्यक भएको दाबी भने दोहोर्याए।
‘उनीहरूलाई युद्ध मन परेन,’ ट्रम्पले भने, ‘मागा (मेक अमेरिका ग्रेट अगेन) आन्दोलनको एउटा मूल भावना नै युद्धबाट टाढा रहने हो।’
दोस्रो, महँगी।
इरान युद्धसँगै त्यसले बढाएको पेट्रोलको मूल्यलाई पनि ट्रम्पले चुनावी हारको कारण मानेका छन्। युद्धपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर अमेरिकी उपभोक्तासम्म पुगेको थियो। पेट्रोलको मूल्य बढ्नुले सर्वसाधारणको दैनिक खर्चमा थप भार परेको थियो।
ट्रम्पले चुनावअघि आयोवामा प्रतिग्यालन १.८५ डलर रहेको पेट्रोलको मूल्य बढेर ३.५० देखि ४ डलरसम्म पुगेको उदाहरण दिएका छन्। उनका अनुसार पेट्रोलको मूल्य अझै पनि पूर्वराष्ट्रपति जो बाइडेन र बाराक ओबामाको कार्यकालको तुलनामा कम थियो। तर युद्धका कारण मूल्य बढेको भन्दै मतदाताले त्यसको दोष आफ्नो प्रशासनलाई दिए।
‘उनीहरूलाई पेट्रोलको मूल्य बढेको मन परेन,’ उनले भने।
अमेरिकी मतदाताका लागि महँगी चुनावको महत्त्वपूर्ण मुद्दा बनेको थियो।
सिबिएस न्युजको मतदाता सर्वेक्षणअनुसार करिब तीन चौथाइ मतदाताले अर्थतन्त्रको अवस्थालाई खराब वा त्यति राम्रो नभएको बताएका थिए। पेट्रोल, खाद्यान्न, बिजुली र स्वास्थ्य सेवाको खर्चले परिवारको आर्थिक अवस्थालाई असर गरिरहेको उनीहरूको भनाइ थियो।
त्यस्तै, एसोसिएटेड प्रेस र अन्य अमेरिकी सञ्चारमाध्यमका लागि गरिएको मतदाता सर्वेक्षणमा करिब ९० प्रतिशतले जीवनयापनको खर्चलाई मतदान गर्दा महत्त्वपूर्ण विषय मानेका थिए। झन्डै दुई तिहाइ मतदाताले ट्रम्पका नीतिका कारण महँगी बढेको धारणा राखेका थिए।
तर ट्रम्पले अमेरिकी अर्थतन्त्रको अवस्था खराब नभएको दाबी गरेका छन्।
रोजगारी र सेयर बजारका सूचक राम्रो हुँदाहुँदै पनि सरकारले गरेका काम मतदातासम्म पुर्याउन नसकिएको उनको भनाइ छ। उनले यसलाई आफ्नो प्रशासनको ‘खराब सन्देश प्रवाह’ भनेका छन्।
‘हामीले आफ्नो कुरा उनीहरूसम्म पुर्याउन सकेनौँ,’ उनले भने।
तेस्रो कारण हो, इसराइलप्रति नकारात्मक धारणा।
ट्रम्पले अमेरिकी मतदातामा इसराइलप्रति नकारात्मक धारणा बढेको विषयलाई पनि रिपब्लिकन पार्टीको हारसँग जोडेका छन्।
इरान युद्धमा अमेरिका प्रत्यक्ष रूपमा संलग्न भएपछि इसराइलसँगको अमेरिकी सम्बन्ध र त्यसलाई दिइएको समर्थनबारे पनि मतदातामाझ बहस बढेको थियो।
अन्तर्वार्तामा ट्रम्पले अमेरिकामा इसराइलप्रति ‘निकै ठूलो असन्तुष्टि’ देखिएको बताए। उनले इरान युद्ध र पेट्रोलको मूल्यवृद्धिसँगै इसराइलप्रतिको नकारात्मक धारणालाई पनि चुनावी हारका प्रमुख कारणमध्ये एक माने।
यो विषयमा उपराष्ट्रपति भान्सले पनि चुनावपछि धारणा सार्वजनिक गरेका थिए।
उनले सन् २०२४ मा ट्रम्प–भान्सलाई मत दिएका केही मतदाताले यसपटक डेमोक्र्याटलाई मतदान गर्नुका कारणमध्ये इसराइलसँगको अमेरिकी सम्बन्ध परिवर्तन गर्नुपर्ने चाहना पनि रहेको बताएका थिए।
अर्थात्, इरान युद्धमा अमेरिकाको संलग्नता र इसराइललाई दिइएको समर्थनबारे रिपब्लिकन पार्टीभित्रै पनि फरक धारणा देखिएको थियो। ट्रम्पले भने यही असन्तुष्टि मतदातामाझ फैलिएको र त्यसले आफ्नो पार्टीलाई असर गरेको बताएका छन्।
चौथो, आप्रवासन नीतिमा कडाइ।
ट्रम्पले चुनावी हारको अर्को कारणका रूपमा आप्रवासन नीतिको कार्यान्वयनमा गरिएको कडाइलाई पनि स्वीकार गरेका छन्।
राष्ट्रपति बनेपछि उनले अवैध आप्रवासन रोक्ने र अमेरिकामा गैरकानुनी रूपमा बसेकाहरूलाई देशनिकाला गर्ने अभियानलाई प्राथमिकता दिएका थिए। दक्षिणी सीमामा नियन्त्रण कडा पार्नु र आप्रवासीलाई पक्राउ गरी देशबाट निकाल्नु उनको प्रशासनको प्रमुख नीति बनेको थियो।
यस नीतिले सीमा नियन्त्रण र अपराधमा संलग्न आप्रवासीलाई देशनिकाला गर्ने विषयमा आफ्नो प्रशासनलाई राम्रो अंक मिलेको ट्रम्पको दाबी छ। तर त्यस क्रममा वर्षौंदेखि अमेरिकामा बसेर काम गरिरहेका र अपराधमा संलग्न नभएका मानिस पनि निकालिएको उनले स्वीकार गरेका छन्।
अन्तर्वार्तामा डौथाटले आप्रवासनको विषयले चुनावमा असर पारेको हो भनेर सोधेका थिए। जवाफमा ट्रम्पले यसले फाइदा र नोक्सान दुवै गरेको बताए।
उनले सीमा बन्द गरेकोमा आफूले ‘ए प्लस’ पाउनुपर्ने र अपराधमा संलग्न आप्रवासीलाई देशनिकाला गरेकोमा पनि राम्रो अंक पाउनुपर्ने बताए। तर कानुन उल्लंघन गरेर अमेरिका प्रवेश गरेको एउटै कारणका आधारमा वर्षौंदेखि काम गरिरहेका मानिसलाई समेत निकाल्नु बढी कठोर भएको उनको भनाइ थियो।
‘मलाई लाग्छ, त्यो केही बढी कठोर भयो। धेरै मानिसले राम्रो भयो भन्लान्, तर धेरैलाई यो अति कठोर लागेको छ। यसले मलाई चुनावमा नोक्सान पनि पुर्याएको हुन सक्छ,’ उनले भने।
ट्रम्पले होटल, रेस्टुरेन्ट र बगैँचा मर्मतजस्ता क्षेत्रमा काम गरिरहेका आप्रवासीको उदाहरण दिँदै कतिपयले करसमेत तिरिरहेको बताए। उनीहरूलाई पनि देशनिकाला गर्दा कठिन अवस्था सिर्जना भएको उनको भनाइ थियो।
उनले लामो समयदेखि अमेरिकामा बसेर काम गरिरहेका र अपराधमा संलग्न नभएका आप्रवासीलाई बस्न दिने व्यवस्था गर्न डेमोक्र्याटसँग सहमति गर्न सकिने संकेत गरेका छन्। तर हत्यारा, बलात्कारी, हिंस्रक अपराधी र लागुऔषध कारोबारीलाई भने देशबाट निकाल्नुपर्ने आफ्नो अडान कायमै राखेका छन्।