अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन्।
सँगसँगै, अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सेना प्रमुख र्यान्डी जर्जलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।
बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनसँग सम्बन्धित फाइल सार्वजनिक गर्ने विषयमा उनको कामप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले बिहीबार महान्यायाधिवक्ता बोन्डीलाई हटाउने निर्णय गरेका हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सरकारी स्रोतहरूलाई उद्धृत गर्दै लेखेको छ, 'ट्रम्पले आफ्ना आलोचक र विपक्षीहरूविरुद्ध मुद्दा चलाउन बोन्डीले अपेक्षाअनुसार छिटो काम नगरेको महसुस गरेका थिए।'
ट्रम्पले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार, उप–महान्यायाधिवक्ता टोड ब्लान्चले अस्थायी रूपमा महान्यायाधिवक्ता कार्यालयको नेतृत्व गर्नेछन्। ब्लान्च पहिले ट्रम्पका व्यक्तिगत वकिल पनि थिए।
उक्त पोस्टमा ट्रम्पले बोन्डीलाई 'अमेरिकी देशभक्त र विश्वासिलो साथी' भन्दै प्रशंसा गरेका छन् र उनले अपराध नियन्त्रणमा ठूलो काम गरेको उल्लेख गरेका छन्। उनले बोन्डी अब निजी क्षेत्रमा जाने बताए पनि विस्तृत जानकारी दिएका छैनन्।
बोन्डीले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ट्रम्पको नेतृत्वमा देशलाई सुरक्षित बनाउने काम गर्न पाउनु आफ्नो जीवनकै ठूलो सम्मान भएको बताएकी छन्।
उनले अर्को एक महिनासम्म आफ्नो जिम्मेवारी ब्लान्चलाई हस्तान्तरण गर्ने जानकारी दिएकी छन्।
ब्लान्चले पनि ट्रम्पलाई धन्यवाद दिँदै देशलाई सुरक्षित राख्न सबै प्रयास गर्ने बताएका छन्।
आफ्नो कार्यकालमा बोन्डी ट्रम्पको नीतिको कडा समर्थन गर्ने व्यक्तिका रूपमा चिनिएकी थिइन्। उनले महान्यायाधिवक्ता कार्यालयलाई ह्वाइट हाउसबाट स्वतन्त्र राख्ने परम्परामा परिवर्तन ल्याएको आरोप पनि लागेको थियो।
उनको कार्यकालमा सबभन्दा ठूलो विवाद एपस्टिनसम्बन्धी फाइलको विषय बन्यो। ट्रम्पका केही सहयोगी र रिपब्लिकन सांसदहरूले समेत यसबारे आलोचना गरेका थिए।
बोन्डीमाथि एपस्टिनसम्बन्धी अनुसन्धानका कागजात सार्वजनिक गर्ने क्रममा लुकाउने वा गलत ढंगले व्यवस्थापन गरेको आरोप लागेको थियो।
स्रोतका अनुसार, ट्रम्पले बुधबार ह्वाइट हाउसमा भएको बैठकमै बोन्डीलाई हटाउने संकेत दिएका थिए।
पछिल्ला दिनहरूमा ट्रम्पका सहयोगीहरूले उनलाई छिट्टै निर्णय लिन सुझाव दिएका थिए।
सेना प्रमुखलाई राजीनामा दिन आग्रह
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सेना प्रमुख र्यान्डी जर्जलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।
पेन्टागनका मुख्य प्रवक्ता सीन पार्नेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै जर्जले अमेरिकी सेनाको ४१औं चिफ अफ स्टाफ पदबाट अवकाश लिइरहेको बताएका छन्। सामान्यतया आर्मी चिफको कार्यकाल चार वर्षको हुन्छ।
र्यान्डी जर्जले वेस्ट पोइन्ट सैन्य एकेडेमीबाट अध्ययन गरेका हुन्। उनलाई सन् २०२३ मा पूर्वराष्ट्रपति जो बाइडेनले सेना प्रमुखमा नियुक्त गरेका थिए।
यो परिवर्तन त्यस्तो समय भएको हो, जब ट्रम्पले राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको अमेरिका–इसराइल युद्ध 'चाँडै' अन्त्य हुने अपेक्षा व्यक्त गरेका थिए। जर्जले पहिले खाडी युद्धमा र त्यसपछि इराक र अफगानिस्तानका युद्धहरूमा एक इन्फ्यान्ट्री अधिकारीका रूपमा सेवा दिएका थिए।
उनीलाई किन पद छाड्न भनियो भन्ने कारण स्पष्ट भएको छैन।
अमेरिकी सञ्चारमाध्यमका अनुसार, उनको स्थानमा आर्मीका उप–चिफ अफ स्टाफ जनरल क्रिस्टोफर ला-नेभ कार्यवाहक चिफ अफ स्टाफ बन्नेछन्। पार्नेलले उनलाई युद्धमा अनुभवी र लामो कार्यानुभव भएका नेतृत्वकर्ता बताएका छन्।
उनले रक्षा मन्त्री हेगसेथलाई ला-नेभप्रति पूर्ण विश्वास रहेको र उनले सरकारको दृष्टिकोण प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका छन्।
वेस्ट पोइन्ट सैन्य एकेडेमीले बुधबार जर्जले सैनिकहरूसँग भेट गरेको तस्बिर सार्वजनिक गर्दै उनले भविष्यका सैन्य नेताहरूलाई आफ्नो अनुभवका आधारमा मार्गदर्शन दिएको जनाएको थियो।
हेगसेथ पेन्टागन आएयता उनले एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीहरू हटाइसकेका छन्, जसमा नेवल अपरेशन्सका प्रमुख र एयर फोर्सका उप–चिफ अफ स्टाफ पनि छन्।