फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले हर्मुज जलमार्ग खुलाउन अरू राष्ट्रले बल प्रयोग गर्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावलाई अस्वीकार गरेका छन्।
दक्षिण कोरियाको भ्रमण क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै म्याक्रोंले हर्मुज जलमार्गमा सुरक्षित आवागमन पुनः स्थापित गर्न सैन्य विकल्प उपयुक्त नहुने बताएका हुन्।
उनले ट्रम्पको प्रस्तावलाई अव्यावहारिक पनि भनेका छन्। बरू इरानसँग कुटनीतिक वार्तामार्फत हर्मुजको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिने म्याक्रोंको भनाइ छ।
यसका लागि अमेरिका-इसराइल र इरानबीचको द्वन्द्व अन्त्य हुनुपर्ने बताएको फाइनान्सियल टाइम्सले समाचार लेखेको छ।
इरानले संसारको २० प्रतिशत भन्दा बढी पेट्रोलियम पैठारी हुने स्ट्रेट अफ हर्मुज बन्द गरेको छ। यसले अन्तर्राष्ट्रिय ऊर्जा संकटको जस्तो अवस्था देखिएको छ।
यसैबीच बेलायतले ४१ देशको सहभागितामा भर्चुअल बैठक आयोजना गर्दै इरानमाथि कूटनीतिक र आर्थिक दबाब बढाउने विषयमा छलफल गरेको छ।
बेलायती विदेशमन्त्री यभेट कुपरले इरानले अन्तर्राष्ट्रिय जलमार्गलाई नियन्त्रण गर्ने प्रयास गरेको भन्दै आलोचना गरेकी छन्।
उक्त बैठकमा फ्रान्स, जर्मनी, इटाली, जापान, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरू सहभागी भए पनि अमेरिका भने सहभागी थिएन। बैठकले तत्काल ठोस निर्णय नगरे पनि वार्ता जारी राख्ने सहमति गरेको छ।
ट्रम्पले भने नेटो मुलुकहरूलाई हर्मुज क्षेत्रमा जहाज पठाएर मार्ग खोल्न आह्वान गर्दै आएका छन्। तर म्याक्रोंसहितका युरोपेली नेताहरूले कूटनीतिक समाधानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
आजै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा हर्मुजमा अरू राष्ट्रहरूले पनि बल प्रयोग गर्ने प्रस्तावमा मतदान हुँदैछ।
१५ सदस्यीय सुरक्षा परिषदको अध्यक्ष अहिले बहराइन छ। उसैले सुरक्षा परिषदमा उक्त प्रस्ताव लगेको हो।
प्रस्तावमा कम्तीमा ६ महिनाका लागि हर्मुज क्षेत्रमा जहाज आवतजावत सुरक्षित गर्न सदस्य राष्ट्रहरूलाई आवश्यक प्रतिरक्षात्मक कदम चाल्न अधिकार दिने व्यवस्था गरिएको छ।
स्थायी सदस्य रहेका अमेरिका, रूस, चीन, बेलायत र फ्रान्ससँग भने भिटो अधिकार हुन्छ। प्रस्तावको पक्षमा ९ मत भन्दा बढी आए पनि स्थायी सदस्यहरू अमेरिका, रुस, चीन, बेलायत र फ्रान्समध्ये कसैले भिटो लगाए भने प्रस्ताव अस्वीकृत हुन्छ।