नेकपा एमालेले सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ। सभामुखका लागि अहिले संसद सचिवालयमा उम्मेदवारी दर्ता भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डोलप्रसाद अर्याललाई उम्मेदवार बनाइ मनोनयन दर्ता गरिसकेको छ।
एमालेले गुरू बराललाई उम्मेदवार बनाउने तयारी गरेको हो।
‘कांग्रेसले उम्मेदवारी दर्ता गर्यो या विपक्षी दलहरू कसैले उम्मेदवारी दर्ता गरे भने हामी उनीहरूलाई समर्थन गर्छौं,’ एमाले सांसद ऐन महरले भने, ‘नत्र हामी उम्मेदवारी दर्ता गर्छौं। विस्तृतमा अहिले केही बेरमा बस्ने सचिवालय बैठकले निर्णय गर्नेछ।’
उनका अनुसार एमालेले बराललाई उम्मेदवार बनाउने भएको छ।
‘हामीले गुरू बराललाई उम्मेदवार बनाउँछौं। उहाँ तयार हुनभएन भने अरूलाई उठाउँछौं। तर उम्मेदवारी दिन्छौं,’ उनले भने।
प्रतिनिधि सभामा एमालेका २५ सांसद छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद छन्।
सभामुख निर्वाचित हुन बहुमत सांसद आवश्यक पर्छ। रास्वपाको दुई तिहाइ नजिक सांसद भएकाले अर्याल सभामुख चुनिनेछन्।