नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ।
महामन्त्री प्रदीप पौडेलका अनुसार सभामुख पदमा पार्टीबाट उम्मेदवारी रहँदैन।
सभामुख निर्वाचनका लागि आज ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम छ।
‘हामीले सभामुखमा उम्मेदवारी दिँदैनौं, हामीसँग प्रस्तावक र समर्थक नभएर भने होइन,’ उनले सेतोपाटीसँग भने, ‘सभामुख पद तटस्थ हो, भूमिका पनि निष्पक्ष रहनुपर्छ। कसले के जिम्मेवारी पाउने भन्ने प्रक्रियाले व्यवस्था गरेको छ, ठूलो दल रास्वपा छ र रास्वपाकै उम्मेदवार जित्ने देखिन्छ। प्रक्रिया र अंकगणितले को विजयी हुन्छ भन्दा पनि सभामुखको तटस्थता कायम हुने विश्वासमा हामीले उम्मेदवारी नदिएको हो।’
कांग्रेस प्रवक्ता देवराज चालिसेले सभामुख पदमा पार्टीबाट उम्मेदवारी नरहने बताए। 'हामीले सभामुखमा उम्मेदवारी दिँदैनौं, जनमतको सम्मान गर्दै रास्वपा उम्मेदवारलाई सहयोग रहन्छ, सभामुखको भूमिका निष्पक्ष रहनुपर्छ,’ उनले भने।
सभामुख निर्वाचन चैत २२ गते हुनेछ।
२७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ जना सांसद छन्। अहिले रास्वपाको एकल सरकार छ।
प्रतिनिधि सभामा कांग्रेसका ३८ जना सांसद छन्।