नेपाली कांग्रेसले सभामुख पदको हकदार ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको बताउँदै उक्त पदमा पार्टीबाट उम्मेदवारी नदिने बताएको छ।
आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदका लागि मनोनयन दर्ताको कार्यक्रम छ। रास्वपाबाट उपसभापति डिपी अर्यालले मनोनयन दर्ता गरिसकेका छन्।
कांग्रेसले भने आफूहरूले सभामुख पदमा उम्मेदवारी नदिने बताएको छ।
महामन्त्री प्रदीप पौडेलले सभामुखको भूमिका तटस्थ कायम हुने विश्वाससहित उम्मेदवारी नदिइएको बताए।
‘हामीले सभामुखमा उम्मेदवारी दिँदैनौं, हामीसँग प्रस्तावक र समर्थक नभएर भने होइन, हाम्रा ३८ जना सांसद हुनुहुन्छ,’ उनले सेतोपाटीसँग भने, ‘सभामुख पद तटस्थ हो, भूमिका पनि निष्पक्ष रहनुपर्छ। कसले के जिम्मेवारी पाउने भन्ने प्रक्रियाले व्यवस्था गरेको छ, ठूलो दल रास्वपा छ र रास्वपाकै उम्मेदवार जित्ने देखिन्छ। प्रक्रिया र अंकगणितले को विजयी हुन्छ भन्दा पनि सभामुखको तटस्थता कायम हुने विश्वासमा हामीले उम्मेदवारी नदिएको हो।’
उनले दलीय हैसियतअनुसार पनि ठूलो दलले सभामुख लिएपछि त्यसपछिको ठूलो दल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपसभामुख पाउने कुरा स्वाभाविक रहने बताए।
‘सभामुखको हकदार जुन पक्ष हो, त्यहीअनुसार सोच्ने हो भने उपसभामुखको हकदार प्रमुख प्रतिपक्षी नै हो नि!,’ महामन्त्री पौडेलले भने।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले भने उपसभामुख निर्वाचन र कसलाई सहयोग गर्ने भन्नेबारे अहिले छलफल नभएको बताएका छन्।
‘उपसभामुखबारे अहिले हामीले छलफल गरेको छैन, सभामुख निर्वाचनपछि छलफल हुन्छ,’ उनले भने।