सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकार जनताको चाहना अनुसार अघि बढ्ने बताएका छन्।
शुक्रबार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जबाफ दिने क्रममा उनले सरकार र पार्टी दुवै जनताको चाहनाअनुसार अघि बढ्ने टिप्पणी गरेका हुन्।
सांसद सिंहले सरकारले कुनै पनि खालको भ्रष्टाचार र कुशासन स्वीकार नगर्ने समेत बताए।
जनताले विश्वास गरेर मत दिएकाले त्यसको सदुपयोग हुनेगरी सरकार अघि बढ्ने सांसद सिंहको भनाइ थियो।
उनले सरकारले जनतामा परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने भन्दै सञ्चारकर्मीहरूलाई ३ महिनासम्म त्यसको सूक्ष्म ढंगले निगरानी गर्न पनि आग्रह गरे।
सांसद सिंहले भने, ‘पार्टी र सरकार दुवै जनताको चाहनाअनुसार अघि बढ्छ। परिवर्तनका लागि जनताले हामीलाई जिम्मा दिएको छ। हामी जनताको जीविकामा परिवर्तन देखाएर हाम्रो सरकार र पार्टीले जनतामा परिवर्तनको आभास गराउँछ। म सम्पूर्ण सञ्चारकर्मीहरूलाईं विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने–सरकारको काम तपाईंहरूले सूक्ष्म तरिकाले ३ महिना हेरिदिनुस् र जनताले आफै भन्छ कि–हामी कुनै पनि बिचौलिया यो देशमा स्वीकार गर्दैनौं। कुनै पनि किसिमको भ्रष्टाचार, कुशासन स्वीकार गर्दैन। हाम्रो पार्टी र सरकार यसमा प्रतिबद्ध छ।’
सांसद सिंहले सरकारले कामलाई प्रभावकारी बनाउने गरी पार्टीले अघि बढ्ने पनि बताए। –न्युज एजेन्सी नेपाल