नेपाली कांग्रेसले संसदीय दल नेता चयन गर्ने प्रयोजनका लागि निर्वाचन समिति गठन गरेको छ।
पार्टीले दिएको जिम्मेवारीअनुसार सभापति गगन थापाले निर्वाचन समिति बनाएका हुन्।
निर्वाचन समितिमा सहमहामन्त्री प्रकाश रसाइली, मुना भुसाल र राजु कटुवाल छन्।
महामन्त्री प्रदीप पौडेलले संसदीय दल नेता चयन प्रयोजनका लागि निर्वाचन समिति बनिसकेको र छिट्टै कार्यतालिका आउने बताए।
‘पार्टीले सभापतिज्यूलाई निर्वाचन समिति बनाउने जिम्मेवारी दिएकोमा उहाँले उक्त समिति बनाइसक्नुभएको छ,’ उनले भने, ‘चैत २४ गते संसदीय दल नेता चयन गर्ने गरी निर्वाचन कार्यतालिका आउँछ।’
उनले संसदीय दल नेता सर्वसम्मत रूपमा चयन भए राम्रो हुने पनि बताए। संसदीय दल नेताका आकांक्षीहरूसँग छलफल भइनसकेको पनि उनको भनाइ छ।
को को छन् संसदीय दल नेतामा आकांक्षी?
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको छ।
संसदीय दल नेताका लागि समानुपातिक तर्फबाट निर्वाचित प्रतिनिधि सभा सांसद पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे आकांक्षी छन्।
गत पुसमा कांग्रेसले विशेष महाधिवेशन गरेको थियो। केसी विशेष महाधिवेशनमा खुलेका थिए। तर १४ औं महाधिवेशनमा शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री उम्मेदवार भई जितेका आङ्देम्बे विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद आङ्देम्बेले सम्बोधन गरेका थिए। त्यस क्रममा उनले विशेष महाधिवेशन भई गगन थापा नेतृत्वमा कांग्रेस बदलिएर आएको कुरा व्यक्त गरेका थिए। त्यसपछि उनी सभापति थापातिर खुलेको चर्चा पनि हुन थालेको छ।
अर्जुननरसिंह केसी अहिले ज्येष्ठ सदस्य छन् र उनले प्रतिनिधि सभा बैठक सञ्चालन गरिरहेका छन्। उनी पनि संसदीय दल नेतामा आकांक्षी छन्। हालै केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका बेला उनले आफू संसदीय दल नेता हुन योग्य रहेको कुरा राखेका थिए।
फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ जितेका सांसदलाई संसदीय दल नेता बनाउनुपर्ने माग पनि कांग्रेसभित्र छ।
रसुवाबाट चुनाव जितेका मोहन आचार्य, इलामबाट चुनाव जितेका निश्कल राई, बाजुराबाट चुनाव जितेका जनकराज गिरी, डोटीबाट जितेका भरतबहादुर खड्का, पाँचथरबाट जितेका नरेन्द्रकुमार केरूङ लगायतको नाम पनि संसदीय दल नेताका रूपमा पार्टीभित्र चर्चामा छ।