राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी संसदमा सभामुखबाट प्रतिपक्षीलाई दमन गर्ने किसिमका गतिविधि नहुने बताएका छन्।
सभामुखमा डिपी अर्यालको उम्मेदवारी दर्तापछि पत्रकारहरूसँगको कुराकानीमा सभापति लामिछानेले अर्याल सभामुख बनेपछि उनी पार्टीको नरहने तर संसदमा प्रतिपक्षीलाई दमन गर्ने किसिमका गतिविधि नहुने बताएका हुन्।
'पार्टीमा रहँदा जुन अनुभव र अभ्यास जुन पीडा र असहजताबाट अगाडि बढ्नुभयो। पक्कै पनि फरक गर्नुहुन्छ होला। त्यो विवेक उहाँलाई छाड्न नसकिने कुरा पनि भएन। त्यस्तो अभ्यास नहोस् भन्ने अपेक्षा गरेका हौं। नियमावली पनि छ त्यसलाई पालना गर्ने सिलसिलामा बाहेक अन्यथा गएर नागरिकका मुद्दाहरुलाई बन्द गर्न खोजेजस्तो अलि लोकतान्त्रिक प्रहार हुने किसिमको, प्रतिपक्षलाई दमन गर्न खोजेको जस्तो त्यस्तो व्यवहार हुनु हुँदैन भन्ने अझै पनि भन्छौं,' उनले भने।
सभामुख भइसकेपछि पार्टीसँग भन्दा पनि सिंगो सदनसँग उत्तरदायी हुनुपर्ने विवेक अर्यालबाट प्रयोग हुन्छ भन्ने विश्वास रहेको लामिछानेले बताए।
उपसभामुखबारे अहिले पार्टीभित्र छलफल नै सुरू नभएको उनले बताए। यद्यपि त्यसमा पनि संविधान र पछिल्लो अभ्यासहरूले भनेजसरी नै अघि बढ्ने उनले बताए।
'हामीले भनेको स्पिरिटअनुसार नै हुन्छ,' उनले भने।
लामिछानेलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउका सन्दर्भमा 'सरकारले हतार गरेको' विषयमा पनि पत्रकारहरूले प्रश्न गरेका थिए।
'हतारो त घरमा आफ्नो कलिला बालबालिकाहरूलाई गुमाएकालाई होला। न्याय पाउने अधिकारी शहिद परिवारको हो। यसको अर्थ अरूले न्याय पाउन हुँदैन भन्ने होइन। सबैले त्यसलाई हेरिरहनुभएको छ,' उनले भने।