नेकपा एमालेले संसदीय दल नेता रामबहादुर थापा 'बादल' ले सदनमा बिहीबार दिएको अभिव्यक्ति सच्याएको छ।
शुक्रबार बसेको सचिवालय बैठकले पार्टीका कार्यवाहक अध्यक्षसमेत रहेका बादलले दिएको अभिव्यक्ति सच्याएको हो।
बैठकले मुलुकको संविधान र प्रचलित कानुन बमोजिम निर्माण भएका नेपाली सेना लगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्युरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति एमालेको सम्बन्ध पूर्ववत एवं मित्रवत रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको हो।
'बैठकले मुलुकको संविधान र प्रचलित कानुन बमोजिम निर्माण भएका नेपाली सेना लगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्युरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ,' बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसका साथै एमालेले प्रधानमन्त्री निर्वाचित भएकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई औपचारिक बधाइ पनि दिएको छ।
'बैठकले गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको संक्षिप्त समीक्षा गरेको छ र निर्वाचनमार्फत अभिव्यक्त भएको जनमतलाई सम्मान गर्दै विजयी हुनुभएका सम्पूर्ण सांसदहरूलाई बधाइ ज्ञापन गरेको छ। भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषदलाई बधाइ ज्ञापन गरेको छ। निर्वाचनमा सहभागी सम्पूर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, निर्वाचन प्रहरी, पर्यवेक्षक, सञ्चारकर्मी, नागरिक समाजलगायत सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरेको छ,' विज्ञप्तिमा उल्लेख छ।
बिहीबार सम्बोधनका क्रममा दल नेता बादलले नेपाली सेना, ब्युरोक्रेसी, सुशीला कार्की सरकार, गौरीबहादुर कार्की आयोग, बारबरा फाउन्डेसन, एनजिओ आदि संस्था तथा पात्रहरूको सहयोगमा रास्वपाले अभूतपूर्व विजय निकालेको बताएका थिए।
'यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क–कसको निर्णायक भूमिका रह्यो? तथ्यहरूले के स्पष्ट गर्छन् भने मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन, एनजिओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो,' उनले भनेका थिए।
त्यस अभिव्यक्तिप्रति उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराईले सार्वजनिक रूपमै विमति जनाएका थिए। र, तुरून्त सचिवालय बैठक बोलाउन माग गरेका थिए।
आज बसेको सचिवालय बैठकले हिजोको अभिव्यक्ति सच्याएको हो।