नेपाली कांग्रेसले आफ्नो १५ औं महाधिवेशनको औपचारिक तयारी सुरू गरेको छ।
पूर्व निर्धारित कार्यतालिकाअनुसार चैत २१ गतेदेखि ७७ वटै जिल्लामा सदस्यता अभियान र सांगठनिक सुदृढीकरणका लागि प्रतिनिधिहरू खटाउँदै कांग्रेसले महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रतिनिधि अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनको तयारीसँगै ‘जरा अभियान’ सञ्चालन गरिएको जानकारी दिए।
उनकाअनुसार ७७ वटै जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभरि जिल्लामा बसेर सदस्यता वितरण, अद्यावधिक र सांगठनिक अवस्थाको प्रतिवेदन तयार पार्नेछन्।
महामन्त्री पौडेलले पुराना क्रियाशील सदस्यहरूले वैशाख महिनाभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता अद्यावधिक गर्नुपर्ने बताए।
पार्टीले यसपटक सबै सदस्यहरूलाई ‘कांग्रेस परिचयपत्र’ प्रदान गर्ने भएको छ। यो परिचय पत्र सदस्यता अद्यावधिक गरेपछि मात्रै प्राप्त गर्न सकिने पनि महामन्त्री पौडैलले बताए।
'कांग्रेस आइडी लिएको व्यक्तिमात्रै अब नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा भाग लिन सक्छन्। त्यो नभएको अवस्थामा पुरानो सदस्यता अद्यावधिक भएको मानिँदैन। त्यस्तो व्यक्ति महाधिवेशनमा सहभागी हुने स्थिति हुँदैन,' उनले भने।
उनले कसलाई दिने कसलाई निने भन्ने प्रश्न नभएको पनि बताए। 'प्रक्रियामा आउनुभयो भने सबैले अद्यावधिक गर्ने, नवीकरण गर्ने स्थिति हुन्छ,' महामन्त्री पौडेलले भने।
वैशाख महिनाभित्र सदस्यता अद्यावधिक नभए पुरानो क्रियाशील सदस्यता कायम नरहने पनि उनले बताए। त्यसकारण सदस्यहरू जुन भुगोल वा वडाका हुन् त्यहीँ गएर अनिवार्य रूपमा नवीकरण गर्न उनले आग्रह गरे।
कांग्रेसले महाधिवेशनको तयारीलाई जरा अभियान नाम दिएको छ।
यस अन्तर्गत चारवटा मुख्य विषयहरू समेटिएका छन्।
१५ औं महाधिवेशनको तयारी, सांगठानिक सुदृढीकरण, नागरिकसँग निर्वाचनको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिमा जोड्ने कुरा यसमा समेटिएका छन्।
पार्टीले गत निर्वाचनमा व्यहोरेको हारको कारण खोज्न र पार्टीलाई पुनर्जीवित गर्न नागरिक स्तरमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ।
केन्द्रीय सभापतिको नेतृत्वमा राष्ट्रिय स्तरमा बुद्धिजीवी र पेशाकर्मीहरूसँग संवाद गरिने र जिल्ला तहमा खटिएका प्रतिनिधिहरूले स्थानीय स्तरमा समीक्षा कार्यक्रमहरू सञ्चालन गर्ने महामन्त्री पौडेलले बताए।
पार्टीको संगठनलाई चलायमान बनाउन स्थानीय आवश्यकताअनुसार सामाजिक कार्यहरूमा कांग्रेसलाई जोड्ने नीति लिइएको छ।
जिल्लामा खटिएका प्रतिनिधिहरूलाई भ्रातृ संगठनहरूको अवस्था बुझ्न र सांगठनिक प्रतिवेदन बुझाउन समेत निर्देशन दिइएको उनले बताए।
प्रतिनिधिहरूलाई आवश्यक निर्देशिका, कार्यविधि र फारमहरू उपलब्ध गराएर जिल्ला पठाइसकिएको र अब वैशाखभर सदस्यता अद्यावधिक गर्ने काम व्यापक रूपमा अगाडि बढ्ने महामन्त्री पौडेलले बताए।