अर्थमन्त्री तथा रास्वपा सांसद स्वर्णिम वाग्लेले तीन जना पूर्वसभामुखहरूलाई सम्झिएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख पदमा पार्टीका सांसद डिपी अर्याललाई समर्थन गर्ने क्रममा उनले तीन पूर्व सभामुखलाई सम्झिएका हुन्।
‘२०१५ सालको निर्वाचनबाट सभामुख हुनुभएका कृष्णप्रसाद भट्टराईले केही मानकहरू स्थापित गर्नुभएको थियो। सरकार सत्तापक्षको र संसद विपक्षको हुन्छ भन्ने मानक त्यतिबेलै स्थापित भएको थियो,’ उनले भने, ‘यो न्याय गर्नुपर्ने मानक हो।’
विपक्षीहरू प्रति रास्वपा थप उदार र सहिष्णु हुने पनि उनले बताए।
बहुदलीय व्यवस्था पुनर्स्थापित भएपछय २०४८ सालका सभामुख दमननाथ ढुंगानालाई पनि वाग्लेले सम्झिए।
‘उहाँले पनि आधुनिक युगका लागि संसदीय अनुभव बिर्सिसकेको नेपाली पुस्तालाई पनि ति उच्च मानक के हुन सक्छन् भनेर पुनर्स्थापित गराउनुभएको स्मरण म यहाँ गर्न चाहन्छु,’ उनले भने, ‘उहाँले पनि इमान्दारीका साथ सभामुख पदलाई न्याय गर्नुभएको हो।’
कहिलेकाहीँ निरस हुने संसदीय गतिविधिलाई पनि त्यसबेलाका सभामुख ढुंगानाले हाँस्य चेतले संसदलाई जीवन्त बनाएको पनि वाग्लेको भनाइ छ।
‘त्यतिबेला असाध्यै विरोध गरिराख्नुहुने एक जना सांसद हुनुहुन्थ्यो- विरोध खतिवडा। सधै विरोध गर्ने। सभामुख पदबाट दमननाथ ढुंगानाले भन्नुहुन्थ्यो- हजुरको काम सधैं विरोध गरिराख्ने मेरो नाम दमन, काम चाहिँ दमन गर्ने भन्नुहुन्थ्यो,’ उनले भने।
साथै उनले २०६२/०६३ सालपछि पूर्वसंविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई पनि सम्झिए। नेम्बाङले समन्वयकारी भूमिका निर्वाह गरेको चर्चा पनि उनले गरेका थिए।
‘कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवासचन्द्र नेम्बाङजस्ता आफूभन्दा अघि आएका अग्रजहरूलाई र अहिले नेपालका पुस्तालाई डिपी अर्यालले बोकेर आफ्नै शैलीमा ढालेर मौलिकता दिनुहुनेछ,’ उनले भने, ‘यो पाँच वर्षे कार्यकाल नेपालकै इतिहासमा अनुपम हुनेछ।’