श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले गृहमन्त्री गुरूङलाई दुई वटा काम सम्झाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् साम्पाङले भदौ २४ गतेका घटनाका दोषीलाई कारबाही र सहकारी ठगी मुद्दामा फरार रहेका जिबी राईलाई समातेर रास्वपा सभापति रवि लामिछानेलाई न्याय दिन उनले माग गरेका हुन्।
‘एउटा प्रतिपक्ष दलको नेता भएको कारण तपाईंको टिकाटिप्प्णी गर्नै पर्छ मैले। प्रश्न सोध्नै पर्छ मैले। मेरा प्रश्नहरू व्यक्तिगत नभएर नितान्त पदीय जिम्मेवारीले भरिएका प्रश्न हुन्। तपाईंले जेनजी आन्दोलन, २३ गतेको घटनाका दोषीहरूलाई पक्रनु भयो, धन्यवाद सबैले दिएका छन्। गलत काम गर्नेहरूको लिस्ट बनाएर कारवाही गर्दै हुनुहुन्छ, धन्यवाद छ,’ उनले भनेका छन्, ‘अझै अघि बढ्नुहोस् शुभकामना छ। तर मैले सदनमा उठाएका दुइटा मुद्दा नबिर्सनु होला। आन्दोलनको २४ गतेको घटनाको दोषीलाई कारबाही। जिबी राईलाई पक्रेर रवि दाईलाई न्याय दिने।’
उनले फेवातालको जग्गा प्रकरणबारे पनि चासो राखेका छन्। गृहमन्त्रीको नाममा भनिएको जग्गाबारे पत्रकार सम्मेलनमार्फत् प्रष्ट्याउन पनि उनले आग्रह गरेका छन्।